जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
सर्वप्रथम विजयादशमीको पावन अवसरमा सबैमा हार्दिक मङ्गलमय कामना ।
विजयादशमी नेपालीहरूको महान् राष्ट्रिय चाड हो । विजयादशमी वा बडादसैँका अवसरमा घर–घरमा, मन्दिर, दोबाटा, चौबाटाहरूमा, काठमाडौँका दबलीहरूमा मङ्गल धुन बज्छन्, देवीको पूजा, आराधना गरिन्छ, अनि मानिसहरू नातागोता, आफन्त र ठूलाबडाको हातबाट जमरा थाप्न, टीका लगाउन जान्छन् । सदियौँदेखि मनाइआएको दसैँ नेपालीहरूका निम्ति महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो ।
दसैँ सुरु हुनुभन्दा हप्तौँ दिनअघिदेखि न्युरोड, इन्द्रचोक, असन, मखन, वसन्तपुरलगायत काठमाडौँका मुख्य बजारहरूमा मानिसहरूको घुइँचो देखिन्छ । त्यसैले आर्थिक क्रियाकलापका दृष्टिले पनि यो महत्त्वपूर्ण चाड हो ।
दसैँका बारेमा विभिन्न किंवदन्ती, पौराणिक कथाहरू हामीले सुनेका छौँ । दसैँ असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजय र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने गरिन्छ । कसै–कसैले यसलाई देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको उत्सवका रूपमा मनाउने गर्छन् त कसैले रावणमाथि भगवान् रामको विजयको उत्सवको रूपमा ।
शास्त्रहरूमा प्रवृत्ति मार्ग र निवृत्ति मार्गका बारेमा उल्लेख गरिएको छ । हामी आफ्नो मनको स्वाभाविक प्रवृत्तिमा लाग्यौँ वा मनको दास भयौँ भने त्यसले आसुरी प्रवृत्तिलाई अँगाल्छ ।
वास्तवमा महिषासुर वा शुम्भ, निशुम्भ, रक्तबीज आदि असुरहरू खोज्न बाहिर कतै जानु पर्दैन । ती हामीभित्रै छन्, जसको पहिचान गरेर त्यसमाथि विजय हासिल गर्नु जरुरी छ । दुर्गा हाम्रै शुद्ध चेतना वा सकारात्मक ऊर्जा हुन् भने महिषासुर नकारात्मक ऊर्जा वा ध्वंसात्मक प्रवृत्ति हुन् । आँखा, कान, नाक लगायत पाँच ज्ञानेन्द्रिय र हातखुट्टालगायत पाँच कर्मेन्द्रिय गरी दस इन्द्रियमाथि विजय प्राप्त गर्नु नै दशानन अर्थात् दस टाउके रावणको वध हो भने महिषासुर वध भनेको अहङ्कारलाई त्याग्नु हो ।
त्यसैगरी काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य गरी ६ प्रकारका विकारहरूलाई त्याग्नु भनेको शुम्भ, निशुम्भ, रक्तबीज आदिको संहार हो ।
शास्त्रहरूमा प्रवृत्ति मार्ग र निवृत्ति मार्गका बारेमा उल्लेख गरिएको छ । हामी आफ्नो मनको स्वाभाविक प्रवृत्तिमा लाग्यौँ वा मनको दास भयौँ भने त्यसले आसुरी प्रवृत्तिलाई अँगाल्छ । तर शास्त्र वचन र गुरुको उपदेश मानेर त्यसअनुसार आचरण गरेमा त्यसले हामीलाई निवृत्ति मार्गतर्फ डोर्याउँछ । आत्मानुशासन कायम गर्न सकेमा हामीमा दैवी प्रवृत्ति देखा पर्छ, नत्र हामीमा आसुरी प्रवृत्ति हावी हुन्छ ।
गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ, आफू नै आफ्नो शत्रु हो र आफू नै आफ्नो मित्र हो । वशमा राखिएको मन तथा इन्द्रिय आफ्नो मित्र हो भने वशमा राख्न नसकिएको मन तथा इन्द्रियहरू शत्रु हुन् । जो आफ्नो स्वार्थ र कामनाहरूको पछि दौडन्छ, उसमा आसुरी प्रवृत्ति हावी हुन्छ, तर जो सचेत भई कामनाहरूलाई वशमा राख्न सफल हुन्छ, जसले सामाजिक भलाइमा आफूलाई समर्पित गर्छ, त्यस्तो मानिसमा दैवी प्रवृत्ति देख्न पाइन्छ ।
हिन्दूहरूको सबैजसो पर्वका तीन आयाम हुन्छन्ः रमाइलो र मनोरञ्जन गर्ने, पूजापाठ वा कर्मकाण्डका विधिहरू पूरा गर्ने र अन्त्यमा आध्यात्मिक ज्ञानमार्फत वा मुक्तिमार्ग प्रशस्त गर्ने ।
दसैँ विजयको मात्र पर्व होइन, ज्ञानको अझ त्यसमा पनि आत्मज्ञानको पर्व हो भन्ने कुरा शास्त्रहरूको अध्ययनबाट थाहा पाइन्छ । दसैँ राम्रो लुगा लगाउने, मीठो खाने, पिङ मच्चाउने, तास खेल्ने, चङ्गा उडाउने मात्र नभई आत्मज्ञान हासिल गर्न अभिप्रेरित गर्ने पर्व पनि हो, जुन कुरा दसैँको मूल पुस्तक दुर्गा सप्तशतीको अध्ययनबाट ज्ञात हुन्छ । यस स्तम्भकारलाई सानो बेला मामाघरमा हजुरआमाले दसैँको टीकाका दिन जमरा, टीका र दक्षिणाका साथमा एक–एकवटा पुस्तक पनि दिएको कुरा अझै सम्झना छ । त्यसबखत त्यो पुस्तक किन दिनुभयो होला हजुरआमाले भन्ने प्रश्न मनमा उब्जेको थियो । वास्तवमा दसैँ आत्मज्ञानद्वारा मुक्तिको मार्गमा लाग्न अभिप्रेरित गर्ने पर्व रहेछ ।
हिन्दूहरूको सबैजसो पर्वका तीन आयाम हुन्छन्ः रमाइलो र मनोरञ्जन गर्ने, पूजापाठ वा कर्मकाण्डका विधिहरू पूरा गर्ने र अन्त्यमा आध्यात्मिक ज्ञानमार्फत वा मुक्तिमार्ग प्रशस्त गर्ने ।
वेद शास्त्रमा उल्लिखित चार पुरुषार्थमध्ये तीन पुरुषार्थ– धर्म, अर्थ र कामले आर्थिक क्रियाकलापमा लाग्ने, सांसारिक गतिविधिमा संलग्न हुने, रमाइलो गर्ने अर्थात् विभिन्न प्रकारका मनोकामना पूर्ति गर्नेतर्फ सङ्केत गर्छन् । तर मोक्ष यी सबैभन्दा उच्च कोटिको पुरुषार्थ भएकाले त्यसलाई परम पुरुषार्थ पनि भनिन्छ ।
जन्म, मृत्युको बन्धनबाट मुक्त भई चिरस्थायी शान्ति वा मुक्ति हासिल गर्नु आध्यात्मिक मार्गको अन्तिम लक्ष्य मानिन्छ । मार्कण्डेय पुराणमा आधारित दसैँको मूल पुस्तक सात सय श्लोकको दुर्गा सप्तशतीमा भोग र योग अर्थात् कामना पूर्ति र मोक्ष प्राप्ति दुवैका प्रसङ्ग, प्रक्रिया र विधिबारे उल्लेख छ । दुर्गा सप्तशतीको सप्तश्लोकीमा भनिएको छ–
‘हे दुर्गे, हाम्रा दुःख, दरिद्रता र भय हरिदेऊ, तिमीलाई मेरो नमस्कार छ । हे सबै दीन, दुःखीहरूको पीडा हर्ने देवी तिमी हाम्रा रोगहरूलाई नष्ट गरिदिन्छ्यौ, हामी भक्तहरूको कल्याण गर्ने हे जगज्जननी तिमी हामीलाई मनोवाञ्छित फल दिन्छ्यौ, तिमीलाई नमस्कार छ ।’
दुर्गा सप्तशतीको कथाअनुसार दरबारबाट निकालिएका राजा सुरथ र घरबार त्यागेका वैश्य समाधिको एक घना जङ्गलमा मेधा ऋषिको आश्रममा भेट हुन्छ । राजालाई उनका दुष्ट मन्त्रीहरूले षड्यन्त्र गरी दरबारको सुख, सम्पत्तिबाट वञ्चित गरेपछि उनी शान्तिको खोजीमा जङ्गल पस्छन् । त्यसैगरी समाधि वैश्यलाई आफ्नै छोरा र श्रीमतीले सम्पत्ति हरण गरी घरबाट निकालिदिएपछि उनी पनि विरक्त भएर जङ्गल पस्छन् ।
आश्रममा पुगेपछि ती दुवै राजा तथा वैश्यले मेधा ऋषिसँग आ–आफ्ना मनमा उठेका कुराहरूका बारेमा जिज्ञासा राख्छन् । राजा भन्छन्, "भगवन् ! मैले जुन राज्य, दरबार, प्रजाहरूलाई त्यागेर आएँ अहिले पनि किन तिनीहरूकै सम्झनाले सताइरहेछ, अझै किन तिनीहरूको चिन्ता ? त्यस्तै समाधि वैश्यले पनि आफ्ना पत्नी तथा पुत्रहरू सबैलाई त्यागेर यहाँ आए । तर उनलाई पनि किन अहिले तिनीहरूकै चिन्ता र सम्झनाले पिरोल्छ ? यसको रहस्य के हो बताइदिनुस् ।"
ऋषि भन्छन्, "यो जगत् प्रपञ्च सत्य होइन, मायाद्वारा सिर्जित मिथ्या हो । तिनै महामाया भगवतीको मोहनी शक्तिले यो संसारचक्र चलिरहेछ । मानिसलगायत सबै जीवलाई आ–आफ्नो इच्छा र कामनाबारे राम्ररी ज्ञान हुन्छ र उनीहरूका कामनाका विषयहरू पनि अलग–अलग हुन्छन् । मानिसमा जसरी सुत्ने, खाने, खेल्ने, रमाइलो गर्नेबारे जे–जस्तो ज्ञान वा समझदारी छ, पशुपन्छीहरूमा पनि त्यस्तै प्रकारको समझदारी हुन्छ । मानिसले जस्तै पशुपन्छीहरूले पनि आफ्ना सन्तानलाई माया गर्छन् । उनीहरूलाई खुवाउँछन् । हुर्काउँछन् । त्यसको बदला उनीहरूबाट पनि त्यस्तै आशा राख्छन् । यसरी यो जगत् तिनै जननी भगवतीको मायारूपी प्रपञ्चद्वारा चलिरहेछ ।"
यद्यपि मानिसहरू र अन्य प्राणीहरूमा सांसारिक ज्ञान र समझको कमी छैन । तथापि उनीहरू जन्म, मरणको चक्र निरन्तर चलाइराख्ने जगज्जननी भगवतीको प्रभावद्वारा उनको मोहनीरुपी गहिरो खाडलमा लगातार फसिरहेका हुन्छन् ।
भगवान् विष्णुकी योगनिद्रारूपी जो महामाया भगवती छिन् उनैबाट यो जगत् मोहित भइरहेको छ । ती भगवती महामाया देवी ज्ञानी मानिसहरूको चित्तलाई पनि बलपूर्वक खिचेर मोहमा पारिदिन्छिन् । तिनै देवीबाट सृष्टि, स्थिति र संहारको चक्र चलिरहेको हुन्छ । तिनै देवी प्रसन्न भई उनकै कृपाबाट मानिसहरूले यस जीवन, मरणको चक्रबाट मुक्ति पाउँछन् । पराशक्तिस्वरूपिणी जगज्जननी देवी संसार बन्धन र मोक्ष दुवैका हेतु हुन् ।
अनि देवी प्रसन्न भई प्रत्यक्ष दर्शन दिन्छिन् र राजा तथा वैश्य दुवैलाई वर माग्न आग्रह गर्छिन् ।
तिनी सम्पूर्ण ईश्वरका पनि अधीश्वर हुन् । काठमाडौँका नेवार समुदाय दसैँलाई मोहनी भनी मनाउने गर्छन् । यहाँ मोहनीको अर्थ तिनै प्रकृति स्वरूपिणी महामाया देवीको मोहजाल हो, जसले यो संसार सञ्चालन गरिरहेछ । दसैँमा जमरा र रातो टीकाका साथमा नेवार समुदायमा कालो थोप्लो टीका पनि लगाउने चलन छ, जुन तिनै महामाया देवीको मोहनीरूपी मायाजालबाट उनैको कृपाद्वारा छुटकारा पाउन साङ्केतिक रूपमा लगाइने टीका भन्ने बुझिन्छ ।
त्यसपछि ऋषिले विष्णुको कानबाट उत्पन्न दैत्यहरू मधु र कैटभले ब्रह्मालाई मार्न खोज्दा कसरी छलद्वारा विष्णुले तिनीहरूको वध गरे अनि कसरी देवीले शुम्भ, निशुम्भ, रक्तबीज, महिषासुर आदि दैत्यहरूको संहार गरिन् भन्ने कुरा सविस्तार बताउँछन् ।
दुर्गा सप्तशतीको प्रथम भागमा मधु, कैटभ दैत्यको वधबारे वर्णन छ भने, दोस्रोदेखि चौथो भागमा महिषासुर वधको प्रसङ्ग आउँछ । त्यस्तै पाँचौँदेखि तेह्रौँ भागमा शुम्भ, निशुम्भ आदि दैत्यहरूको संहारबारे वर्णन गरिएको छ । वास्तवमा दुर्गा सप्तशतीले हामीमा निहित काम, क्रोध, लोभ, मोह, ईर्ष्या, अहङ्कार जस्ता नकारात्मक प्रवृत्तिलाई नै दैत्यका रूपमा चित्रण गरेको छ ।
यसरी देवीद्वारा थरी–थरीका दैत्यहरूको वधको प्रसङ्ग वर्णन गरिसकेर ऋषिले दुवैजनालाई देवीको उपासना विधि सविस्तार बताउँछन् । त्यसपछि सुरथ र समाधि दुवैजना नदी किनारमा निराहार रही नुहाई शुद्ध भई बालुवाले देवीको मूर्ति बनाई धूप, दीप, फूल, चामल, नैवेद्य चढाई पूजाआजा गर्छन् र देवीलाई आफ्नै शरीरको अलिकति रगत बलिका रूपमा चढाउँछन् भन्ने सो पुस्तकमा उल्लेख छ । स्मरणीय छ, त्यसमा जनावरको बलि दिनेबारे कहीँ उल्लेख छैन ।
अनि देवी प्रसन्न भई प्रत्यक्ष दर्शन दिन्छिन् र राजा तथा वैश्य दुवैलाई वर माग्न आग्रह गर्छिन् ।
राजाले आफ्नो राज्य फिर्ता गरिदिन आग्रह गर्दै शत्रुले त्यसलाई कहिल्यै हरण गर्न नसकोस् र मेरो राज्य चिरकालसम्म कायम रहोस् भनी वर माग्छन् । देवीले तथास्तु भनी उनकै इच्छानुसार वर प्रदान गर्छिन् । राजाले सुदृढ सेनासहित तत्काल आफ्नो राज्य फिर्ता पाउँछन् र चिरकालसम्म राज्य सुख भोग गर्छन् ।
तर वैश्य भने संसारबाट विरक्त भइसकेका हुनाले उनले आफ्नो मन सांसारिक कामनाबाट हटोस् र मोक्षका निम्ति ज्ञान दिनुहोस् भनेर वर माग्छन् । देवीले तथास्तु भन्छिन् र वैश्य तत्काल जन्म, मरणको चक्रबाट मुक्त भई परमात्मामा लीन हुन्छन् । यसरी हाम्रो वेद शास्त्रमा उल्लिखित श्रेय र प्रेय अर्थात् निवृत्तिमार्ग र प्रवृत्तिमार्गका बारेमा यस सप्तशतीको कथामा रोचक ढङ्गले वर्णन गरिएको छ ।