जिराभवानी । पर्साको ठोरी गाउँपालिकाले विकासमा फड्को मारेको छ । वर्षात्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक मरमत भएका छन् । गाउँपालिकाभित्रका सडक कालोपत्रे, पीसीसी र ग्राभेल गर्ने कार्यसँगै गाउँपालिकाको मुहारनै फेरिएको छ । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको यतिबेला स्तरोन्नति गर्ने काम पाचौं वार्डमा भइरहेको छ । यहाँका सबै वडामा अहिले धमाधम सडक र नाला निर्माण भइरहेको छ ।
निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धताअनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने कार्य सम्पन्न भएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार गाउँपालिकाले जन चाहना र आवश्यकताका आधारमा गाउँपालिकाभित्रका मुख्य र सहायक सडक नाला पुनः निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभयो ।
बिजयबस्ती बजार क्षेत्रमा दुई लेन सडक निर्माण सुरु भएसँगै बजारको रूप पनि फेरिँदै छ । अहिले ठोरी गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेका छन् भने केही सडक स्तरोन्नति गर्ने कार्य भइरहेको ठोरी गाउँपालिका वार्ड नम्बर ४ वडाध्यक्ष रोकेन लामाले बताउनुभयो ।गाउँपालिकाले अघि सारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकाले गाउँपालिकामा विकास देखिएको प्रमुख प्रशासकीय अधिकृत राज कुसवाहाको भनाइ छ ।
उहाँले अब वर्षामा गाउँपालिकावासीले हिलामेको समस्या खेप्न नपर्ने गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको दाबी गर्नुभयो ।बिकास निर्माण र पुर्बधार निर्माण मूल्याङ्कनमा पर्साको स्थानीय तहहरू मध्ये ठोरी गाउँपालिका उत्कृष्ट भएको छ । जिल्लाका पालिकाहरू मध्ये सबै भन्दा बढी ६४.१४ अङ्क प्राप्त गरी प्रथम भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक बापत प्राप्त गरेको अङ्कको प्रकाशित नतिजामा जिल्लामा सबै भन्दा बढी अङ्क ठोरी गाउँपालिकाले प्राप्त गरेको छन ।