पर्सा । पर्साको ठोरी –२ मा रहेको छोटी भन्सार कार्यालय आजबाट सञ्चालनमा आएको छ । कर्मचारी अभावमा लामो समयदेखि बन्द सो छोटी भन्सारको एक कार्यक्रमका बीच आज भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रिबन काटेर सुचारु गर्नुभएको छ ।
वीरगञ्ज भन्सार कार्यालय मातहतको सो छोटी भन्सार सन्चालन नहुँदा ठोरी र विशेषगरी चितवनको माडीका जनतालाई सास्ती हुने गरेको थियो । पर्साको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब ६ वर्षअघि तयार पारिएको भएपनि कर्मचारी नहुँदा राजस्व चुहावट हुँदै आएको थियो ।
ठोरीसंग सिमाना जोडिएको भारततर्फको भिखना ठोरीमा भन्सार कार्यालय नभएपनि एकतर्फी रुपमा नेपालमा सो भन्सार कार्यालय सन्चालनमा आएको हो । विशेषगरी भारततर्फबाट खाद्यान्न, लत्ताकपडालगायत सामान ठोरी भएर आउने गरेको भएपनि भन्सार नहुँदा स्थानीयबासीलाई समस्या हुने गरेको थियो ।भन्सार कार्यालयको उद्घाटन गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगर प्रमुख दाहालले भन्सार कार्यालयलाई महानगरका तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठ ठोरी गाउँपालिकाका पुर्व अध्यक्ष पदमलाल श्रेष्ठ बाराका प्रजिअ शशीधर घिमिरेको सह-अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाग्मती प्रदेशका बिधायक ठाकुर ढकाल, भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहाल, माडी नगरपालिकाकि मेयर ताराकाजी महतो, भन्सार बिभागका निर्देशक ढुण्डीराज निरौला लगायत ठोरी, माडीका बासिन्दाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले ठोरीमा भन्सार खुल्नु स्वागत योग्य कुरा रहेको बताउदै भन्सार सुचारु गर्न पहल गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।