जिराभवानी । आकासे वर्षा नहुँदा पर्साको ग्रामिण क्षेत्रमा तरकारी संगै चैते धान पनि सुक्न थालेको छ । किसानले खोलाको पानी लगाउनेगरी र आकाशको पानीका भरमा रोपेको चैते धान सुक्न थालेको छ । पानी नपरेकाले खेतबारीमा लगाइएको तरकारी खेतीनै सखाप हुन थालेको किसानहरु बताउँछन् ।यता चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाँजा फाटेको छ । यो वर्ष खेतबारीमा लगाइएको तरकारी र अन्नबालीमा निकै सुख्खा हुँदा थप समस्या भएको जिराभवानी गाउँपालिका वार्ड नम्बर १का किसान जितबहादुर खवास थारु बताउनुहुन्छ । यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सुरुमै खडेरीले प्रभाव पारेको छ ।


यो वर्ष चैते धान रोपिएकोमा आकासे वर्षा र खोला पैनीमा पानी नहुँदा बाली प्रभावित बनेको किसानहरु बताउँछन् । पानी लाग्नका लागि सहज भएका स्थानमा समेत खोलाको पानी सुक्न थालेपछी थप समस्या भएको उनीहरुको गुनासो रहेको छ ।पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका पर्सागढी नगरपालिका लगायतका क्षेत्रमा पानी पर्ने आसमा खेतबारीमा लगाइएका चैते धान र तरकारी बाली नष्ट हुन थालेको किसानहरु बताउँछन् । यता सिँचाइको सुविधा भएको ठाउँमा मात्रै चैते धान खेती हुने गरेको तर आकासे वर्षा नै नभएर पानीको तह तल जाँदा समस्या परेको एक किसानले बताएका छन् ।