जिराभवनी । नेपाल–भारत सीमामा खटेका दुवै देशका सुरक्षाकर्मीहरूले उत्पन्न गरेका समस्याका कारण दुई देशबीचको रोटीबेटी सम्बन्धमा अवरोध हुन थालेको छ ।विगतका तुलनामा अहिले नेपाल– भारतका नागरिकबीच वैवाहिक कार्यक्रम कम हुँदै गएको छ ।
भारत, बिहार राज्यका विभिन्न जिल्लामा नेपालबाट जन्ती जाँदा सीमामा विभिन्न किसिमका समस्या उत्पन्न हुने गरेको जीराभवानी गाउँपालिका–१महादेवपट्टी निवासी मनमोहन महतोले बताए ।
सीमामा खटेका नेपाली सुरक्षाकर्मीहरूले खासै केही नगरे पनि भारतीय एसएसबीले गाडीको कागजपत्र माग्ने गरेको, बैन्डबाजा, रथलगायतका विषयलाई लिएर दुःख दिने गरेको महतोले बताए । यसका साथै एउटा नाकाबाट जन्ती लैजाँदा अर्को नाकाबाट लैजान भारतीय सुरक्षाकर्मीहरूले दुःख दिने गरेका कारण दुई देशबीच वैवाहिक कार्यक्रम कम हुँदै गएको महतोले बताए ।भारतबाट नेपालमा जन्ती आउँदा नेपाली सुरक्षाकर्मीहरूले पनि दुःख दिने गरेको भारतीय पक्षको गुनासो छ ।
पश्चिमी चम्पारण मैनाटाड प्रखण्डको रामपुर पञ्चायतका मुखिया मुन्ना दुवरियाले भारतबाट नेपालमा जन्ती लैजाँदा मनोरञ्जनका लागि ल्याइने आर्केस्ट्रा जसमा युवती रहने गर्छन त्यसलाई नेपाली सुरक्षाकर्मीले प्रतिबन्ध लगाएको बताए ।
यसका साथै प्रहरीले जन्तीको पटाका खोस्ने, वडाको सिफारिश अनुसार तोकिएको सङ्ख्यामा सवारीसाधन लैजाने नियम लगाएपछि दुई देशबीच वैवाहिक सम्बन्धमा कमी आएको हो । अहिले नेपालबाट भारतमा छोरीहरूको विवाह निकै कम हुने गरेको मुखिया दुवरियाले बताए ।