पर्सा , असार २८
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै जेठ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।सो रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा असार ९ गतेदेखि २१ गतेसम्म बहस चलेको थियो । इजलासमा सबै पक्षको गरी ३४ घण्टाको बहस भएको थियो ।२१ गते बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २८ गते फैसला सुनाउने जानकारी दिएका थिए ।फैसलामा देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ । अर्थात फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।