काठमाण्डाै । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीमा मात्रै अभियोग दर्ता गराएको विषयमा छानबिन गर्न समिति गठन भएको छ ।
महान्यायाधिवक्ता रमेशप्रसाद बडालले यथाशीघ्र प्रतिवेदन दिने गरी नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो । समितिमा महान्यायावक्ता कार्यालयका प्रवक्ता एवम् सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयलका प्रमुख जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले सहारा चितवन सहकारी ठगी प्रकरणमा हिजो रवि लामिछानेविरुद्ध सहकारी ठगीको अभियोग मात्र मुद्दा दर्ता गर्नुभएको थियो । लामिछानेलाई किन सङ्गठित अपराधको कसूरमा अभियोग लगाइएन भन्ने विषयमा छानबिन गर्न महान्यायाधिवक्ता बडालले समिति गठन गर्नुभएको हो । महान्यायाधिवक्ता कार्यालयले मुद्दा दायर गर्ने जिल्ला न्यायाधिवक्ता लुइँटेललाई हिजै सरुवा गरेर केन्द्रीय कार्यालय तानेको छ ।
चितवनको सरकारी वकिलको कार्यालयले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा ३२ जनाविरुद्ध हिजाे अभियोजन गर्दा १२ जनालाई मात्रै सङ्गठित अपराध र ठगीको मुद्दा चलाएको थियो । मुद्दा आज न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी परेको छ । मुद्दाको सुनुवाइ हुने भएपछि लामिछाने अदालत हाजिर भएका छन् । लामिछानेसहित उपस्थित प्रतिवादीहरूको बयान गरेपछि थुनछेक बहस शुरू हुनेछ ।