काठमाडौं । फेब्रुअरी महिनालाई प्रेमिल जोडीहरुको महिना मान्ने गरिन्छ । उनीहरुका लागि फेब्रुअरी महिना निकै विशेष हुन्छ ।
फेब्रुअरीको दोस्रो साता अर्थात आजबाट प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्छन् । माया गर्नेहरूका लागि आजबाट हरेक दिन उत्सव जस्तै हुन्छ । प्रेम गर्ने जोडीहरूले साताभर आफ्नो पार्टनरसँग प्रेम व्यक्त गर्न विभिन्न तरिकाहरू अपनाउँछन् त्यसैले प्रेमको यो हप्तालाई भ्यालेन्टाइन साता मान्छन् ।
भ्यालेन्टाइन सप्ताहका सात दिनमा प्रेमिल जोडीहरुले विभिन्न तरिकाले प्रेम व्यक्त गर्ने गर्छन् । यो आज ७ फेब्रुअरीदेखि सुरु भएर १४ फेब्रुअरी सम्म मनाइन्छ ।
भ्यालेन्टाइन सप्ताहको पहिलो दिनलाई गुलाफ दिवस (रोज डे) को रूपमा मनाउँछन् । प्रेम गर्ने जोडीहरूले रातो गुलाफ फूलको सहायताले आफ्नो प्रेम व्यक्त गर्छन् ।
यसैगरी, दोस्रो दिन फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ किस डे र फेब्रुअरी १४ मा प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाउँछन् ।
कसरी सुरु भयो भ्यालेन्टाइन डे ?
भ्यालेन्टाइन डे ईपू २७० रोम (इटाली) बाट सुरु भएको मानिन्छ । यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग जोडिएको छ । उनी रोमन सम्राट क्लाउडियस द्वितीयले लगाएको प्रेम र विवाहको विरुद्धमा लागे । सम्राटले युवा प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने मान्यता राखेर यसलाई प्रतिबन्ध लगाएका थिए । सम्राटले महिलासँगको सम्बन्धका कारण सुरक्षाकर्मीमार्फत गोप्य विषय बाहिर जाने भयले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरेका थिए ।
भ्यालेन्टाइन भने सम्राटको निर्णय धर्मविरुद्ध भएको जिकिर गर्थे । उनले अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वरसमेत खुसी हुने तर्क गर्थे । भ्यालेन्टाइनले राजाको आज्ञालाई मानेनन् र प्रेम र विवाहका लागि प्रेरित गरे । उनले युवायुवतीका जोडी तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम गरे । राजाको आज्ञा नमानेको भन्दै उनलाई ईपू २७० को फेब्रअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेमका लागि आफ्नो ज्यान दिएका पादरी भ्यालेन्टाइनको सम्झनामा उनका अनुयायीहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरेका थिए ।
पश्चिमा देशहरुबाट सुरु भएको भ्यालेन्टाइन पछिल्लो वर्षहरुमा विश्वभर मनाइँदै आइएको छ ।