काठमाण्डौ । नेपालमा १० वर्षअघि १३ हजार टन विद्युतीय फोहर रहेकामा अहिले तीन गुणाभन्दा धेरैले बढेको छ । अहिले यस्तो फोहोर ४२ हजार टनसम्म पुगेको डोको रिसाइक्लर्सको अनुमान छ । विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहरको व्यवस्थापनमा चुनौती पनि बढेको छ ।
विशेषगरी कानूनको अभावमा विद्युतीय फोहोर व्यवस्थापनमा समस्या आइरहेको सरोकारवालाले बताएका छन् । विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पादन हुने फोहर व्यवस्थापनमा जिम्मेवार बनाउने कानूनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्सका प्रमुख कार्यकारी निर्देशक पङ्कज पञ्जियार बताउनुहुन्छ ।
सिसा, धारिला वस्तु, टुटेफुटेका सेरामिकलगायत अजैविक फोहर टुक्रा बनाएर सडक ग्राभेलका क्रममा खाल्डाखुल्डीमा पुर्ने गरिएको छ । कागज, विद्युतीय सामग्री, प्लास्टिकलगायत फोहर पुनः प्रयोगका लागि कच्चापदार्थका रूपमा उद्योगमा पठाउने गरिन्छ । विद्युतीय मात्र नभई प्लास्टिकजन्य फोहर मानव स्वास्थ्य र वातावरणका हिसाबले हानिकारक मानिन्छ ।
कुनै प्लास्टिक उद्योगले नेपालमा पाँच हजार टन उत्पादन गरेमा त्यसको पुनः प्रशोधन वा नष्ट गर्नेसम्मको जिम्मेवारी पनि त्यही कम्पनीको दायित्वमा रहने कानूनी प्रावधान हुनुपर्ने वातावरण संरक्षणकर्मीको धारणा छ । डोको रिसाइक्लर्सलगायत कम्पनीले ‘नयाँ धारणा, स्वच्छ सपनाः फोहर छुट्याउने हाम्रो चाहना’ नाराका साथ फोहर व्यवस्थापन अभियान सञ्चालन गर्दै आएका छन् ।
डोकोले फोहर सङ्कलन गरी भक्तपुरको सानोठिमी र सल्लाघारीको प्रशोधन केन्द्रबाट विद्युतीय फोहर छुट्याएर व्यवस्थापन गर्दै आएको छ । ती फोहरबाट आम्दानीसमेत गरिएको छ । डोकोबाहेक अन्य कम्पनीले हेटौँडा र विराटनगरमा विद्युतीय फोहर सङ्कलन शुरु गरेका छन् ।