काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन् ।
प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आज बिहान छलफल गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसदबाट नबनेको, दलबाट नबनेको, जेनजीबाट नबनेकोले यो सरकार कस्को भन्ने प्रश्न गरे ।
‘यो सरकार कसको प्रतिनिधी हो ? जेन जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गरे–‘आखिर यो सरकार कसको हो ?’
बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहिनतालाई प्रश्रय दिएको उनको भनाइ छ । यस प्रकारका अपराधी पक्राउ नपर्नु र निर्दोषलाई पक्रन, स्थानहद गर्न सरकार विभिन्न समुहका नाममा माग पत्र, ज्ञापन पत्र बुझाउनुमा पनि सरकारकै हात रहेको अध्यक्ष ओलीको भनाइ छ ।
‘विभिन्न नामका समुह खडा गरेर कहिले २४ गतेका विध्वंस्कारीलाई पक्रन हुदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ । कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्यो भन्न लगाएको छ’ अध्यक्ष ओलीले भने– ‘यो कुनै जेन जी समुहले गरेको होइन । सरकारले आफैं यस्ता समुहहरु खडा गरेर,आफैं ज्ञापन पत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।’ यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरुसँग भएको उनले बताए ।
गृहमन्त्रीले यस प्रकारका अपराधीलाई पक्राउ नगर्न निर्देशन दिनुले देशमा दण्डहिनतालाई प्रश्रय दिएको उनको भनाइ छ । अध्यक्ष ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद पुनस्र्थापना एक मात्र विकल्प भएको बताए ।
‘असंवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनस्र्थापना गरेर मात्र देशलाई सही बाटोमा हिडाउन सकिन्छ’ अध्यक्ष ओलीले भने ‘यदी यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस्छ । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स अहिले नै करेक्सन गर्नु पर्दछ । ’ संसद विघटनलाई सिंगो देशले नै अस्विकार गरको उनले बताए ।
‘अहिलेको संसद विघटनलाई सिंगो देशले अस्विकार गरेको छ । सबै वडाहरुले अस्विकार गरेका छन् । पालिकाहरुले अस्विकार गरेका छन् । जिल्लाहरुले अस्विकार गरेका छन् ’ अध्यक्ष ओलीले भने–‘त्यसको प्रमाणको रुपमा एमाले वडामा उल्लेख्य जनताको सहभागितामा भएका भेला, पालिकाका जनप्रदर्शन र हिजो देशैभर भएका जनसभालाई हेर्न सकिन्छ । एमालेले सञ्चालन गरेका यी कार्यक्रममा ठूलो संख्यामा जनता उर्लिएर अहिलेको सरकार र यसका कदमलाई अस्विकृत गरिसके ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई पञ्चायतकालिन अवस्थामा पुर्याएको बताएका छन् । ‘पञ्चायतकालमा संविधानमा नै प्रेस स्वतन्त्रता थिएन । अहिले संविधानमा त प्रेस स्वतन्त्रता छ तर अहिले व्यवहारमा छैन ’ प्रेस चौतारीको टिमसँग अध्यक्ष ओलीले भने ‘सेल्फ सेन्सरसिप लागु भएको छ । पत्रकारले आफूले देखेको,अनुसन्धान गरेका विषयहरु सहजै लेखेमा उनीहरुमा सरकारबाट खतरा छ । त्यसैले सेल्फसेन्सरसिपको मार पत्रकारले खेपिरहेका छन् । ’
छलफलमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले वर्तमान सञ्चार माध्यमको अवस्था, पत्रकारप्रति बढेको सुरक्षा संवेदनशिलता र प्रेस चौतारीका गतिविधिका बारेमा जानकारी गराएका थिए ।