पर्सा । पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसादद्वारा जारी गरिएको निर्देशनलाई गाउँपालिकाको प्रशासनिक अनुशासन, पारदर्शिता र जवाफदेहिता सुदृढ बनाउने कदमका रूपमा हेरिएको छ। स्थानीय तहका निर्णयहरू विधिसम्मत, समन्वयात्मक तथा जिम्मेवार ढंगले कार्यान्वयन होस् भन्ने उद्देश्यले अध्यक्षले कार्यपालिका र गाउँपालिकाको स्वीकृतिबिना कुनै पनि महत्वपूर्ण काम नगर्न निर्देशन दिएका हुन्।
पछिल्लो समय गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहमाथि एकलौटी निर्णय गर्ने, जनप्रतिनिधिसँग आवश्यक समन्वय नगर्ने तथा कार्यपालिका निर्णयलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको आरोप लाग्दै आएको छ। यस्ता गतिविधिले संस्थागत प्रणाली कमजोर बन्ने तथा जनप्रतिनिधि र कर्मचारीबीच अनावश्यक विवाद सिर्जना हुने अवस्था उत्पन्न भएको स्थानीय स्रोतहरूको भनाइ छ।
अध्यक्ष सुरेश प्रसादले जारी गरेको निर्देशनले गाउँपालिकाभित्र हुने सूचना प्रवाह, योजना कार्यान्वयन, आर्थिक गतिविधि तथा प्रशासनिक कामकारबाहीलाई कानुनी प्रक्रिया र संस्थागत निर्णयअनुसार सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तह जनप्रतिनिधिमार्फत सञ्चालन हुने संवैधानिक व्यवस्था भएकाले कार्यपालिका तथा अध्यक्षको निर्णयलाई बेवास्ता गर्दै अघि बढ्ने कुनै पनि प्रवृत्ति सुशासन र उत्तरदायित्वको सिद्धान्तविपरीत हुने सरोकारवालाहरूको धारणा रहेको छ। यस्तो अवस्थामा गाउँपालिकाको संस्थागत गरिमा जोगाउन अध्यक्षको निर्देशन समयसापेक्ष र आवश्यक कदम भएको बताइएको छ।