काठमाडौं । बैंकको नाममा फोन गरी ‘केवाईसी अपडेट’ गर्नुपर्ने भन्दै सर्वसाधारणलाई झुक्याएर बैंक खाताबाट रकम चोरी गर्ने साइबर ठगी गिरोहका चार जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोले बाराको देउताल गाउँपालिका–४ निवासी २२ वर्षीय अभय तिवारीसहित नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का जयकुमार केवट, रामग्राम–१७ का विद्यसागर केवट तथा पर्साको वीरगन्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले बैंकका कर्मचारी बनेर फोन तथा ह्वाट्सएप कलमार्फत ग्राहकलाई सम्पर्क गर्ने, ‘केवाईसी अपडेट’ गर्नुपर्ने भन्दै मोबाइलको स्क्रिन सेयर गर्न लगाउने वा ओटिपी नम्बर माग्ने गरेका थिए। त्यसपछि प्राप्त जानकारीको दुरुपयोग गर्दै पीडितको बैंक खातामा अनधिकृत पहुँच कायम गरी रकम अन्य खातामा स्थानान्तरण गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
साइबर ब्यूरोले गरेको प्राविधिक अनुसन्धानका आधारमा उनीहरूको संलग्नता पुष्टि भएपछि चितवनमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा साउन ३१ गते उनीहरूलाई पक्राउ गरिएको हो।
हाल चारै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमबाट हुने ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन्।
प्रहरीले बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग फोनमार्फत ओटिपी, पासवर्ड वा स्क्रिन सेयर गर्न नलगाउने भएकाले यस्ता फोन, सन्देश वा कलप्रति सजग रहन सबैलाई आग्रह गरेको छ।