वीरगन्ज । पर्सा र बारामा पछिल्लो केही सातादेखि सर्पदंशका घटना बढेका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा दैनिकजसो ७–८ जना सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन्।
मंगलबार अस्पतालमा सर्पको टोकाइबाट घाइते भएका चार जनाको उपचार भइरहेको छ। उपचाररतमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ की ५० वर्षीया रामपती देवी, पर्साको कालिकामाई गाउँपालिका–२ की २७ वर्षीया रिमा चौरसिया, सोही ठाउँका २० वर्षीय प्रिन्स चौरसिया र बहुदरमाई नगरपालिका–८ रामनगरीकी ८ वर्षीया मनिषा पटेल रहेका छन्।
अस्पतालका चिकित्सक डा. दीपक चौरसियाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उनीहरूको उपचार गरिरहेको छ।
गर्मी बढेसँगै पर्सा र बाराका विभिन्न क्षेत्रमा सर्पदंशका बिरामी बढेको चिकित्सकहरूले बताएका छन्। केही दिनअघि एन्टी स्नेक भेनमको अभावमा उपचारमा समस्या देखिए पनि अहिले सरकारले औषधि उपलब्ध गराएपछि उपचार सहज भएको अस्पतालले जनाएको छ।
सर्पले टोकेमा समयमै अस्पताल पुर्याउन र झारफुक तथा घरेलु उपचारमा नलाग्न चिकित्सकहरूले आग्रह गरेका छन्।