वीरगञ्ज । भारतको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा वीरगञ्ज–रक्सौल मितेरी पुलमा भारतीय झण्डा हटाउने क्रममा भएको विवादमा सशस्त्र प्रहरीका दुई जना कर्मचारीलाई सीमा पोस्टबाट गणमा तानिएको छ।
शुक्रबार साँझ भारतीय नागरिक अमित उपाध्याय र सशस्त्र प्रहरीबीच झण्डा हटाउने क्रममा विवाद भएको थियो। झण्डा हटाउने क्रममा उपाध्यायमाथि सशस्त्र प्रहरीले बल प्रयोग गरेको आरोप लागेपछि घटनाबारे छानबिन सुरु गरिएको हो।
घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार असई राहुल गुप्ता र वरिष्ठ हवल्दार वीरेन्द्र विष्टलाई सीमा पोस्टबाट गणमा तानिएको छ।
दुवै जनालाई गणमै राखेर स्पष्टीकरण सोधिएको र उनीहरूमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले बताए।
उनका अनुसार घटनाबारे दुवै जनासँग थप जानकारी लिने तथा आवश्यक छानबिन गर्ने काम भइरहेको छ। छानबिनका क्रममा अन्य प्रहरी कर्मचारीसमेत दोषी देखिए उनीहरूमाथि पनि विभागीय कारबाही गरिने उनले स्पष्ट पारे।
घटनामा भारतीय नागरिकमाथि बल प्रयोग भएको आरोपसमेत रहेकाले सशस्त्र प्रहरीले सीसीटीभी फुटेजलगायतका आधारमा घटनाको सत्यतथ्य पत्ता लगाउने जनाइएको छ।