काठमाडौँ । मंसिर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकतासभामा रवि लामिछानेले नक्खु कारागारबाट तीन सन्देश पठाएका थिए ।
रास्वपाका सभापतिसमेत रहेका उनले पार्टी उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा.स्वर्णिम वाग्लेमार्फत सन्देश पठाए । पहिलो सन्देशमा उनले एकता प्रक्रियामा जोडिएका विवेकशील साझाका नेताहरूलाई स्वागत गरे भने दोस्रोमा, केही समय ‘कुलिङ पिरियड’ बसेर विश्राम लिन र तेस्रो सन्देशमा मिडिया ट्रायलदेखि टाढै रहन सचेत गराएका थिए ।
एकता घोषणाअघि संयोजक वाग्लेले सहमतिको पाँचबुँदे ड्राफ्ट रविलाई सुनाएका थिए । सहमतिका बुँदाहरूबाट रवि निकै उत्साहित भएको कुरा वाग्लेले एकता सभामा सुनाए । सोही दिन संवाद समितिका सहसंयोजक शिशिर खनालले कारागार पुगेर रविलाई भेटेका थिए । उनले एकतामा आएका विवेकशील साझाका नेताहरूलाई हिजोसम्म पाहुनाका रूपमा हेरिएको भए पनि अबदेखि एउटै घरको सदस्यसरह भएको सन्देश प्रवाह गरेका थिए ।
सहकारी ठगी मुद्दामा आठ महिनादेखि रवि पुर्पक्षका लागि थुनामा छन् । तर पार्टीका धेरैजसाे निर्णय उनीबाटै हुने गरेका छन् । अर्थात् कारागारभित्रैबाट उनले पार्टी चलाएको चर्चा भइरहेको छ । कार्यवाहक सभापति अर्याल, उपसभापति वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन कुमार आचार्यलगायत सचिवालयका सदस्यहरू पालैपालो कारागार पुगेर पार्टी निर्णयको ब्रिफिङ गर्ने तथा आगामी योजनाका लागि सभापतिको सहमति लिने काम गरिरहेका छन् ।
२०८१ चैत २२ गते उच्च अदालत बुटवल इजलासले पुर्पक्षका लागि रविलाई जेल पठाउन आदेश दिएको थियो । तर रवि स्वयंले तत्कालीन केपी ओली सरकारले आफूमाथि राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा मुद्दा लगाएको आरोप लगाउँदै आएका छन् । उनकै आदेशमा रास्वपाले सरकारलाई दबाब दिन देशभर हस्ताक्षर अभियान नै चलायो । हस्ताक्षर अभियानका संयोजक दीपक बोहराले ४० लाख मानिसले रविको पक्षमा समर्थन गरेको जिकिर गरेका छन् । रवि जेल गएपछि पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति तथा उनका विश्वासपात्र डोलप्रसाद अर्याललाई दिएको छ ।
तर पार्टीको हरेक निर्णयमा रवि नै हाबी हुने गरेको आरोप लागेको छ । सचिवालय बैठकको एजेन्डा सेटिङदेखि केन्द्रीय समिति बैठकका निर्णयसम्म सभापतिको अनुमतिबिना नहुने रास्वपा वृत्तमा चर्चा छ । रास्वपाकै एक नेताले नक्खुको आदेशबिना पार्टीका कुनै निर्णय नहुने आरोप लगाए ।
‘रास्वपामा नक्खुबाट जे आदेश आउँछ, त्यही हुन्छ । पार्टी स्थापनाकालदेखि योगदान गरेका साथीहरूले छोड्दै जानुभएको छ । पार्टी एकता गर्ने विषयमा पनि सभापति र उपसभापतिबिच फरक–फरक इन्ट्रेस्ट देखिन्छ । उज्यालो नेपाललगायत पार्टीसँग एकता रविको चाहनामा नपरेकाले सम्भव हुन सकेन,’ ती नेताले भने ।
पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले ‘कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने ?’ भन्दै आरोप लगाउँदै जेनजी आन्दोलनको केही दिनपछि पार्टी छाडेकी थिइन् । उनले भनेकी थिइन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल गर्ने गरिन्छ । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै मैले आलोचना गर्दै आएको छु । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन ।’
रास्वपा सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडे । उनी अहिले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्मा रहेर काम गरिरहेका छन् । डा. तोसीमा कार्कीले नेतृत्वप्रति सीधै आरोप नलगाए पनि पार्टीको विधि र प्रक्रियाप्रति असन्तुष्टि पोख्दै आएकी छन् ।
पार्टीको हरेक निर्णयमा सभापति हाबी भएको आरोपबारे सहमहामन्त्री विपिन कुमार आचार्यले खण्डन गरेका छन् । पार्टी सभापतिको हैसियतले महत्त्वपूर्ण निर्णय लिने विषयमा परामर्श लिनु स्वाभाविक भए पनि पार्टीको विधि र पद्धतिमाथि उनले कहिल्यै हस्तक्षेप नगरेको जिकिर गरे ।
आचार्यले निर्वाचन प्रक्रियाको विषयमा पनि पार्टी सचिवालय र केन्द्रीय समितिको निर्णयअनुसार नै भएको जिकिर गरे । स्थापित पार्टी सभापतिलाई भेट्न विभिन्न दलका नेताहरू आउनु र शुभेच्छा व्यक्त गर्नु स्वाभाविक भएको उनले स्पष्ट पारे ।
यसअघि महामन्त्री कवीन्द्र बुर्लाकोटीले रातोपाटीसँग कुराकानी गर्दै कुलमानलाई एकतामा ल्याउन रविकै कारणले सम्भव नभएको भन्ने आरोपबारे अस्वीकार गरेका थिए । पार्टीको नेतृत्व नै कब्जा गर्ने हिसाबले प्रस्ताव आएकाले अस्वीकार गरिएको उनले जिकिर गरेका थिए ।
जेनजी विद्रोहपछि सबै पार्टीभित्र ध्रुवीकरण तीव्र गतिमा बढ्दै जाँदा रास्वपाभित्र पनि एजेन्डा मिल्नेहरूबिच एकता र सहकार्य हुनुपर्ने माग बढ्दै गयो । एजेन्डा मिल्ने पार्टीहरू र जेनजीका विभिन्न समूहसँग छलफल गर्न पुकार बमको नेतृत्वमा वार्ता समिति बनाएको थियो । यो समितिले पनि जेनजीका विभिन्न समूह तथा नयाँ दलहरूसँग छलफलमै रहेको र छिट्टै निष्कर्षमा पुग्ने दाबी गरेको छ । बमले पनि नक्खुबाटै पार्टी चलेको आरोपको खण्डन गरे । उनले पार्टीभित्र हरेक सदस्यलाई काम गर्न स्वतन्त्रता भएको जिकिर गरे ।
‘बाहिर नक्खु कारागारबाट रास्वपा चलेको जुन हल्ला चलाइएको छ, ती आधारहीन वाइयात हल्ला हुन् । हाम्रो पार्टी विधि र पद्धतिअनुसार नै चलेको छ । यसमा कोही भ्रममा नपरे हुन्छ । मेरै कुरा गर्नुहुन्छ भने मैले आफैँले पार्टी एकताका लागि विभिन्न समूहसँग छलफल गर्ने प्रस्ताव राखेको थिएँ । पार्टीले त्यसलाई अनुमोदन गर्यो । मेरो काममा रविजीले कहिल्यै पनि हस्तक्षेप गर्नुभएन,’ उनले भनेका छन् ।
भ्रष्टाचार र बेथिति विरुद्धको टेलिभिजन कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रहेका रविले २०७९ साल असार ७ गते पार्टी स्थापना गरेका थिए । पार्टी स्थापना भएको पाँच महिनामै उनले ११ लाख ३५ हजार समानुपातिक मत र प्रतिनिधिसभामा २१ सिट जिताउन सफल भएका थिए । पार्टी एकता सभामा सचिवालय सदस्य विराजभक्त श्रेष्ठले रविकै कारण रास्वपा बनेको बताएका थिए । श्रेष्ठको अभिव्यक्तिले पनि पार्टीभित्र रविको अभाव र प्रभाव स्पष्ट रूपमा बुझ्न सकिन्छ ।
‘रविले सुरु गर्नुभएको खुला चौतारी, राष्ट्रिय स्वतन्त्र पार्टीको यो मञ्च नहुँदो हो त, आज वैकल्पिक राजनीतिको क्षमता, प्रभाव र यसको संरचनागत वृद्धि सम्भव हुँदैनथ्यो । उहाँले प्रत्येक भेटमा भन्नुभयो, म भित्र भएर के भयो ररु हामी बाहिर बढेकै छौँ नि ! उहाँकै कारण आज यो मञ्चमा भाषण गर्न सक्षम छौँ,’ उनले भनेका थिए ।
तर पार्टी नेतृत्व नै ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, दोहोरो नागरिकता र राहदानी प्रकरणमा मुछिएपछि रविको विकल्प खोज्नुपर्ने पक्षमा पार्टीभित्रै आवाज उठ्ने गरेको छ ।
भदौ २४ गते जेनजी विद्रोहका क्रममा रास्वपाका कार्यकर्ताहरूले जेल तोडेर रविलाई बाहिर निकालेका थिए । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यक्तिले नक्कली पत्र खडा गरेर बाहिरिएको भनी उनीमाथि आरोप लाग्यो । रविकै कारण अन्य कैदीबन्दीहरू समेत भागेको भनी आलोचना बढ्दै गएपछि उनी फेरि कारागार गएका थिए ।