काठमाडौं । सर्वोच्च अदालत ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाफल प्रकाशन गर्दा परीक्षार्थीको नागरिकता नम्बर उल्लेख नगर्न सरकारका सम्बन्धित निकायलाई परमादेश जारी गरेको छ।
न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेल को संयुक्त इजलासले माघ १८ गते गरेको आदेशको पूर्णपाठ हालै सार्वजनिक भएको हो।
यसअघि यातायात व्यवस्था विभाग ले सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक गर्दा परीक्षार्थीहरूको नाम र रोल नम्बरसँगै नागरिकता नम्बर पनि प्रकाशन गर्दै आएको थियो। तर, अदालतले यस्तो अभ्यासले वैयक्तिक गोपनीयताको हक उल्लंघन हुने ठहर गरेको छ।
अदालतले आफ्नो आदेशमा परीक्षाफलसँगै नागरिकता नम्बर सार्वजनिक गर्दा परीक्षार्थीहरूको निजी विवरण अनावश्यक रूपमा सार्वजनिक हुने र यसले गोपनीयताको संवैधानिक अधिकारमा असर पर्ने स्पष्ट पारेको छ। साथै, कुनै पनि प्रचलित कानुनले परीक्षाफल प्रकाशन गर्दा नागरिकता नम्बर सार्वजनिक गर्न अनुमति नदिएको पनि उल्लेख गरिएको छ।
यो मुद्दा कानुनका विद्यार्थी विवेक चौधरी ले दायर गरेको रिट निवेदनपछि अदालतले सुनुवाइ गरेको थियो। उनले विभागले लामो समयदेखि गोपनीयताको हक उल्लंघन गर्दै आएको दाबी गरेका थिए।
यसअघि भदौ २४ गते भएको आगजनीका कारण उक्त मुद्दासम्बन्धी मूल कागजात नष्ट भएको थियो। त्यसपछि मुद्दा व्यवस्थापन प्रणालीमा उपलब्ध विवरणका आधारमा अदालतले पूर्णपाठ तयार पारेको हो।
अदालतको यो निर्णयसँगै अब उपरान्त सवारी लाइसेन्स परीक्षाफल प्रकाशन गर्दा नागरिकता नम्बर खुलाउने अभ्यास बन्द हुने अपेक्षा गरिएको छ।