जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–५ मा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् ।
धनुषा प्रहरीका अनुसार बिहीवार साँझ करिब ७ः१० बजे जनकपुरधाम–५ स्थित रहिमपथ नजिकै सोनारपट्टी दाहा चोकमा स्थानीय २४ वर्षीय आमिन साफी र २५ वर्षीय ईम्तियाज राइनमाथि धारिलो हतियार चक्कु प्रहार भएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार पुरानो रिसइबीका कारण जनकपुरधाम– ५ कै करिब २२ वर्षीय मोहम्मद ईर्साद खानले दुवै जनाको छाती तथा पेटमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो । अस्पतालमा चिकित्सकले साँझ ७ः१५ बजे जाँच गर्दा आमिन साफीको मृत्यु भइसकेको घोषणा गरेका थिए। उनको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका ईम्तियाज राइनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मोहम्मद ईर्साद खानलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको धनुषा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जनाएको छ । प्रहरीले घटनाको वास्तविक कारण, घटनाको क्रम तथा चक्कु प्रहारमा प्रयोग भएको हतियारलगायतका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । घटना पश्चात जनकपुरधामको अवस्था तनावग्रस्त बनेको छ ।