पर्सा । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
धोबीनी गाउँपालिकाको सभा हलमा आयोजित गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले गर्नुभएको थियो।
गाउँसभामा उपाध्यक्ष मंजु देवी पटेलको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो।गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
अध्यक्ष चौहानले राजनीतिक समस्याका कारण गाउँसभा सञ्चालनमा ढिलाइ भएको उल्लेख गर्दै यसले विकास निर्माणका काम तथा सर्वसाधारणको दैनिक कामकाजमा समेत असर परेको बताउनुभयो। गाउँसभा सम्पन्न भएसँगै विकास निर्माणका कामलाई तीव्रता दिने र जनताका कामलाई छिटोछरितो तथा प्रभावकारी बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादवले आफूले सक्दो इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो। उहाँले आगामी दिनमा गाउँपालिकालाई स्वच्छ, समृद्ध र नमुना स्थानीय तहका रूपमा विकास गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष मंजु देवी कुर्मी, प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव, वडाध्यक्षहरू बन्धु साह तेली, देवेन्द्र पटेल, राजकिशोर पटेल, अबास मियाँ चुरिहार र मनाउर मियाँलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्यामकिशोर पटेल, कार्यपालिका सदस्य दिनेशप्रसाद कलवार, गाउँसभा सदस्य, महिला सदस्य, शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, इन्जिनियर रविभूषण पटेल, योजना शाखा प्रमुख पप्पु पटेल, लेखापाल सोनु कुमार सोनी, जिन्सी शाखा प्रमुख प्रदीप पटेल, प्रशासन शाखा प्रमुख प्रदीप गुप्ता, स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव, महिला तथा बालबालिका शाखा प्रमुख सञ्जय यादव, रोजगार शाखा प्रमुख दिलिप कुमार पटेल, कृषि शाखा प्रमुख रविन्द्र शर्मा, पत्रकार तथा
सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो।कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख दिपेन्द्र प्रसाद चौहानले गर्नुभएको थियो।