वीरगञ्ज । आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिने आकाङ्क्षासहित राजनीतिक दल परिवर्तन गर्ने क्रम सुरु भएको छ। निर्वाचन आयोगले आगामी निर्वाचन फागुनको अन्तिम साता वा चैतको पहिलो साता गर्ने तयारी गरेको समाचार सार्वजनिक भएसँगै महानगरमा चुनावी सरगर्मी बढ्न थालेको हो।
यसैबीच, नेकपा एमालेबाट पर्सा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचन लडेकी रीमा यादवले पनि पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ। आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिने उद्देश्यले उनले एमाले छाडेको स्रोतको दाबी छ।
स्रोतका अनुसार रीमाले एमाले छाड्ने निर्णय विजयकुमार सरावगीले पार्टी परित्याग गरेको घोषणा गर्नुभन्दा अगाडि नै गरेकी थिइन्। रास्वपाबाट उपमेयरको टिकट पाउने सुनिश्चिततापछि उनी उक्त पार्टीमा प्रवेश गरेको दाबी गरिए पनि यसबारे औपचारिक पुष्टि हुन सकेको छैन। उनको पार्टी सदस्यता तथा प्रवेशसम्बन्धी विवरणसमेत प्राप्त भएको छैन।
यस विषयमा नेकपा एमालेका पर्सा इन्चार्ज प्रभु हजारासँग बुझ्दा उनले रीमा यादवले गत प्रतिनिधिसभा निर्वाचनमा एमालेको टिकटबाट चुनाव लडेको भए पनि उनी एमाले नभएको टिप्पणी गरे। उनीहरू अन्य कुनै पार्टीमा प्रवेश गर्नु ठूलो कुरा नभएको उनको भनाइ थियो।
यता, रीमा यादवका श्रीमान् प्रद्युम्न यादवसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा वीरगञ्ज महानगरपालिकामा प्रमुख र उपप्रमुख पदका सम्भावित उम्मेदवारहरूबीच राजनीतिक समीकरण फेरिन थालेको छ। यद्यपि, रीमा यादवको रास्वपा प्रवेश र उपमेयरको टिकट निश्चित भएको विषयमा सम्बन्धित पक्षबाट औपचारिक पुष्टि हुन बाँकी छ।