काठमाडौं । डोलप्रसाद अर्याल ले प्रतिनिधि सभाका सचिव हर्कराज राई सँग लिखित स्पष्टीकरण माग गरेका छन्। उनलाई पदबाट हटाउने प्रक्रिया अघि बढाउने तयारीस्वरूप सो स्पष्टीकरण सोधिएको हो।
स्रोतका अनुसार सचिव राईलाई यसअघि नयाँ कार्यदललाई काम गर्न सहज वातावरण बनाउन मौखिक रूपमा आग्रह गरिएको थियो। तर, अपेक्षित सहयोग नदेखिएपछि औपचारिक रूपमा लिखित स्पष्टीकरण सोधिएको हो। सचिव राईले स्पष्टीकरण माग गरिएको स्वीकार गर्दै आफूले जवाफ दिइसकेको बताएका छन्।
राईमाथि प्रतिनिधि सभामा सांसदहरूलाई बोल्ने समय निर्धारणमा असमानता अपनाइएको तथा पक्षपातपूर्ण व्यवहार गरिएको आरोप लागेको छ। त्यस्तै, प्रतिनिधि सभाअन्तर्गतका विषयगत संसदीय समितिहरूलाई सक्रिय बनाउन आवश्यक पहल नगरेको विषयमा पनि उनीसँग स्पष्टीकरण मागिएको बुझिएको छ।
२१ फागुनमा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाले २७ चैतमा विषयगत समितिहरू गठन गरेको थियो भने वैशाख ४ गते ती समितिहरूले सभापति चयन गरेका थिए। यद्यपि, हालसम्म समितिहरूले नियमित बैठक सञ्चालन गर्न नसकेको अवस्था छ।
सचिव राई तत्कालीन सभामुख देवराज घिमिरे को सिफारिसमा २०८१ पुस १६ गते नियुक्त भएका थिए। नेपालको संविधानअनुसार सभामुखको सिफारिसमा राष्ट्रपतिबाट सचिव नियुक्त हुने व्यवस्था रहेको छ।
संघीय संसदका पदाधिकारीहरूको पारिश्रमिक, सेवा सर्त र सुविधासम्बन्धी ऐन, २०७५ अनुसार सचिवलाई पदमुक्त गर्नुअघि सफाइ पेश गर्ने उचित अवसर दिनुपर्ने प्रावधान छ। सोही आधारमा सभामुखले स्पष्टीकरण मागेका हुन्।
यदि स्पष्टीकरण सन्तोषजनक नठहरेमा सभामुखले सचिव राईलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने कानुनी व्यवस्था छ। उक्त सिफारिसपछि राष्ट्रपतिबाट पदमुक्ति स्वीकृत भएमा सचिव पद स्वतः रिक्त हुनेछ।
कानुनअनुसार कार्यक्षमताको अभाव, खराब आचरण वा पदीय जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह नगरेको आधारमा सचिवलाई पदबाट हटाउन सकिने व्यवस्था रहेको छ।