काठमाडौं । वीर अस्पतालले बिरामीको टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको छ । शुक्रबारदेखि अस्पतालले मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सक्ने गरी सेवा विस्तार गरेको अस्पतालले जनाएको छ । यो सेवाको लागि बिरामीले मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड गरी एपबाटै टिकट काट्ने र आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछन् ।
एप निर्माणका लागि गठित समितिकी सदस्य डा. अनुपमा कार्कीले यो प्रविधिको विकाससँगै घण्टौंसम्म लाइनमा बसेर टिकट लिनुपर्ने झण्झटबाट बिरामीले मुक्ति पाउने दाबी गरिन् ।सो प्रविधि अनुसार अब बिरामीले सिधै डाक्टर भेट्न मात्रै अस्पताल गए हुने भएको छ । यो प्रविधि अहिलेलाई ओपीडी सेवामा मात्रै लागू गरिएको छ । यो परीक्षणकाल भएकोले ओपीडीमा मात्रै लागू गरिएको र बिस्तारै सबै सेवामा यो प्रविधि विकास गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।अस्पतालले यसअघि नै अनलाइनबाटै रिपोर्ट लिन सकिने सुविधा दिइसकेको छ ।