नायिका पूजा शर्माले हिजो आफ्नो प्रेमी युद्ध बानियासँग लगनगाँठो कसिन् । भक्तपुरको साँगास्थित होटल फच्र्युनमा भव्य वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो, जहाँ चलचित्र क्षेत्रका अनुहारहरु बाक्लो संख्यामा देखिए ।
‘महानयक’ राजेश हमालदेखि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री रेखा थापादेखि केकी अधिकारीसम्मको उपस्थिति रहेको थियो । आफन्त परिवार र अन्य साथीभाइ छुट्ने कुरै भएन । अनि सञ्चारकर्मी र युट्यूवरहरुको पनि कमि थिएन ।
पूजासँग एकदमै निकट मानिएका केही व्यक्तिहरुहरु भने विवाहमा छुटे । निर्देशक सोभित बस्नेत उपस्थित नहुनुलाई आश्चर्यका रुपमा हेरियो । नायक आकाश श्रेष्ठ पनि आएनन् । उनी नआउनु भने आश्चर्य थिएन । बुझिए अनुसार पूजाले उनलाई निम्तो गरेकी थिइनन् । कुनै समय निकै गहिरो मित्रतामा रहेका पूजा र आकाश पछिल्लो समय भने टाढिएका छन् ।
पूजाको विवाहमा नायक पल शाह पनि पुगेनन् । पूजा र पलको सम्वन्धबारे त धेरै बयान गरिराख्न पर्दैन । स्क्रिनभित्र मात्र नभएर बाहिर पनि उनीहरुको गज्जबको केमेस्ट्री थियो । पल र पूजालाई रियल जोडीका रुपमा हेर्न चाहने पनि धेरै थिए । पूजा युद्धसँग प्रेममा परेपछि पनि पलसँग उनको निकटतामा कमि आएको थिएन ।
पल जेलबाट निस्किएपश्चात भने यो जोडीको सम्वन्ध पहिलेजस्तो रहेन । पलले आफ्नी बहिनीको विवाहमा आफूलाई निम्तो नगरेको पूजाले सार्वजनिकरुपमा नै बताएकी छन् । सम्वन्धमा अलि सुधार आएपश्चान उनीहरुले ‘रावायण’ मा सँगै काम गरे, तर यो फिल्म चलेन ।
बुझिए अनुसार पूजाले पललाई विवाहमा बोलाएकी थिइन् । तर, पलले आफ्नै नेतृत्वमा गठन गरेको ‘हामी छौं’ नामक फाउन्डेसनको उद्घाटन कार्यक्रममा सहभागी हुनु परेकाले आफू विवाहमा जान नपाएको बताएका छन् । सामाजिक सञ्जालबाटै उनले पूजालाई शुभकामना दिएका छन्।
फाउन्डेसनको उद्घाटन कार्यक्रममा सञ्चारकर्मीले पललाई पूजाको विवाहमा जाने नजानेबारे सोधेका थिए । जवाफमा उनले संयोगवस आफ्नो कार्यक्रम र पूजाको विवाह जुधेको बताए । पूजाको विवाह आजै हो भन्ने आफूले पहिला थाहा नपाएको उनको भनाइ थियो ।
पूजाका अर्का अनन्य मित्र सुदर्शन थापा पनि विहेमा उपस्थित हुन सकेनन् । उनी भने अहिले देशबाहिर रहेको बुझिएको छ ।
यस्तै पूजासँगै फिल्म डेब्यू गरेका नायक प्रदीप खड्का तथा सहकार्यं गर्न नपाएका अनमोल केसीको पनि उपस्थिति देखिएन ।
जे होस्, विवाहलाई भव्य बनाउन पूजा र युद्धले कुनै कसर छोडेनन् । विवाहको कार्यक्रम चलिरहँदा हेलिकोप्टर उडाएर पुष्पवृष्टि गराइएको थियो । यो क्षणको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । करिब पाँच मिनेटसम्म ३ सय किलो सयपत्री फूल आकाशबाट खन्याइएको पूजा निकट स्रोतले दावी गर्यो ।
पूजाले लगाएकाे सारी भने धेरैले चित्त बुझाएका छैनन् । सारीकाे रंग बहुलीले लगाउने जस्ता नभएकाे भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन् ।
वैवाहिक समारोहभरि पूजा निकै खुशी र चञ्चल देखिएकी थिइन् । उनले मण्डपमै दुलाहालाई गालामा किस खाँदा हुटिङ भएको थियो । युद्ध भने गम्भीर र शालिन मुद्रामा थिए । राति ९ बजेतिर दुलही अन्माउँदाको क्षणमा रुवावासी चल्यो ।