काठमाडौं । नेकपा (एमाले)का वैचारिक नेता महासचिव पदका उम्मेदवार शंकर पोखरेलले पार्टी, आन्दोलन र राष्ट्रको रक्षाका लागि आफूलाई विजयी बनाउन आग्रह गरेका छन् ।
समकालीन नेपाली राजनीतिमा स्थापित, वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सक्षम नेताका रूपमा परिचित पोखरेलले प्रतिनिधिहरुलाई आग्रह गर्दै लेखेका छन्, ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षाका लागि तपाईको अमूल्य मतको अपेक्षा राखेको छु ।’
सादा जीवनशैली, आर्थिक पारदर्शिता र निर्भीक अभिव्यक्तिका कारण छुट्टै पहिचान बनाएका पोखरेल मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज)का कुशल व्याख्याता तथा व्यवहारिक कार्यान्वयनकर्ताका रूपमा पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत दूरदर्शी नेताका रूपमा हेरिन्छ ।
संघर्षबाट नेतृत्वसम्मको यात्रा
विसं २०१९ फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–१९, हाडिमेमा जन्मिएका पोखरेलले जनता संस्कृत माध्यमिक विद्यालय, विजौरीबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।
मण्डले दमनका कारण नेपालमै एसएलसी दिन नपाई भारतको बनारस पुगेर प्राइभेट परीक्षार्थीका रूपमा एसएलसी उत्तीर्ण गरेका उनले बनारसबाट स्नातक तथा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एमबिए) उपाधि प्राप्त गरेका छन् ।
विसं २०३५ बाट राजनीतिक यात्रामा होमिएका पोखरेल २०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय रहे । २०३७ देखि पटक–पटक जेल र हिरासत जीवन भोग्दै पनि उनको राजनीतिक प्रतिबद्धता कमजोर भएन ।
अखिल आन्दोलनको संस्थागत विकासमा अग्रणी भूमिका खेल्दै उनले अभानेस्ववियुको स्थापना गरी संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाले । यही कालखण्डमा जननेता मदन भण्डारीसँगको प्रत्यक्ष सम्पर्क र मार्गदर्शनले उनको वैचारिक धार अझ परिपक्व बनायो ।
विद्यार्थी आन्दोलनदेखि पार्टी नेतृत्वसम्म
अनेरास्ववियु बागमती अञ्चल कमिटीको अध्यक्ष हुँदै विसं २०४५ मा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति निर्वाचित पोखरेलले विद्यार्थी हक–अधिकार, शैक्षिक सुधार, प्राज्ञिक स्वतन्त्रता र राजनीतिक चेतनाको विस्तारमा उल्लेखनीय योगदान गरे । देशभरका स्ववियुहरूलाई एकीकृत गर्ने उद्देश्यसहित स्ववियु काउन्सिलको संस्थापक अध्यक्ष बनेर नेतृत्व गरे ।
२०४६ को जनआन्दोलनमा विद्यार्थी मोर्चाबाट निर्णायक भूमिका निर्वाह गरेका उनी अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०४७ मा अध्यक्ष बने । अखिल आन्दोलनसँग जोडिएको पुस्ताका लागि उहाँ आज पनि प्रेरणाको स्रोत मानिन्छन् ।
पार्टी राजनीति : केन्द्रीय सदस्यदेखि महासचिवसम्म
विसं २०५४ मा सम्पन्न नेकपा (एमाले)को छैठौं राष्ट्रिय महाधिवेशनबाट शंकर पोखरेल केन्द्रीय सदस्यका रूपमा निर्वाचित भए । त्यसपछि सातौं महाधिवेशनमा पनि केन्द्रीय सदस्यको जिम्मेवारी निरन्तरता दिँदै पार्टी संगठन र वैचारिक कामलाई मजबुत बनाउन सक्रिय रहे ।
आठौं महाधिवेशनमा उनी केन्द्रीय सचिवमा निर्वाचित भई पार्टीको नीति निर्माण, संगठन व्यवस्थापन र वैचारिक दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।
नवौं महाधिवेशनपछि स्थायी समिति सदस्यका रूपमा जिम्मेवारी पाउँदै पार्टीको केन्द्रीय नेतृत्व तहमा रहेर निर्णायक भूमिकामा रहे ।
पार्टी स्कूल विभागको नेतृत्वमार्फत् वैचारिक प्रशिक्षण, कार्यकर्ता क्षमता अभिवृद्धि, नीति निर्माण र संगठन सुदृढीकरणमा उनको योगदान उल्लेखनीय रह्यो ।
लामो समयको राजनीतिक अनुभव, वैचारिक स्पष्टता र संगठनात्मक दक्षताको मूल्याङ्कन गर्दै विसं २०७८ मंसिरमा सम्पन्न नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट शंकर पोखरेल सर्वसम्मत महासचिवमा निर्वाचित भएका थिए ।
संसदीय र सरकारी भूमिका
विसं २०५१ मा दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पोखरेलले निर्वाचनकै क्रममा विजौरी गोलीकाण्डजस्तो जटिल र पीडादायी परिस्थितिको सामना गरे । संसदमा जनसरोकारका विषयमा निर्भीक आवाज उठाउने सांसदका रूपमा उनी ‘पँजेरो सुविधा’को प्रतिवाद गर्ने पहिलो सांसदका रूपमा चिनिन्छन् ।
प्रथम कम्युनिस्ट सरकार (मनमोहन अधिकारी) कालमा पार्टी प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका पोखरेलले सशस्त्र द्वन्द्व उत्कर्षमा राप्ती अञ्चलमा शान्ति पदयात्राको नेतृत्व गरे ।
विसं २०६६ मा सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ताका रूपमा उनले नेपालको भू–उपग्रह (स्पेस) अधिकार फिर्ता गराउने ऐतिहासिक योगदान दिए । दूरसञ्चार विस्तार, सूचना महामार्ग अवधारणा र सञ्चार क्षेत्रको व्यवस्थापनमा उनको भूमिका उल्लेखनीय रह्यो ।
लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री
२०७४ को निर्वाचनबाट दाङ २ (क)बाट प्रदेश सभा सदस्य निर्वाचित भई प्रदेश नं. ५ (हाल लुम्बिनी)का संस्थापक मुख्यमन्त्री बनेका पोखरेलले ‘समृद्ध प्रदेश, खुसी जनता’को स्पष्ट कार्यदिशा अघि सारे ।
प्रदेशको नाम र राजधानी सहमतिमा टुंग्याउने सफल नेतृत्व, पूँजीगत खर्च सतप्रतिशत र बेरुजु शून्य कायम गर्नु उनको कार्यकालका उल्लेखनीय उपलब्धि मानिन्छन् ।
वैचारिक र सिर्जनात्मक योगदान
मदन भण्डारीद्वारा विश्वास गरिएका जबजका प्रमुख व्याख्याता पोखरेलले विसं २०५९ मा संविधानसभाबाट राजनीतिक निकासको प्रस्ताव अघि सार्दै राष्ट्रिय सहमतिको आधार निर्माणमा भूमिका खेले । गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पसबाट पहिलो सार्वजनिक आह्वान र नवौं महाधिवेशनमा रूपान्तरणीय आर्थिक–सामाजिक विकास अवधारणाको नेतृत्व उनका महत्वपूर्ण वैचारिक योगदान हुन् ।
संविधानसभा, राज्यको पुनःसंरचना र समावेशी लोकतन्त्र सहित युगलहर, सिमानापारिको हुँकार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प र एक्काइसौं शताब्दी जस्ता कृतिहरूमार्फत उनले नेपाली राजनीतिमा वैचारिक बहसलाई थप समृद्ध बनाएका छन् । पार्टी मुखपत्र नवयुग का प्रधान सम्पादकका रूपमा पनि उनको योगदान उल्लेखनीय छ ।
पार्टी एकता, संगठन सुदृढीकरण र राष्ट्रको दीर्घकालीन हितका लागि स्पष्ट विचार र अनुभवी नेतृत्व आवश्यक रहेको सन्देश दिँदै पोखरेलले प्रतिनिधिहरूसँग दृढ समर्थनको अपेक्षा गरेका छन् ।