पर्सा, पुस २ । पर्साको धोबिनी गाउँपालिका–५, धोबिनीमा शिक्षकहरूका लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धी तीनदिने तालिम आजदेखि सुरु भएको छ।
धोबिनी गाउँपालिकाको आयोजनामा श्री अजिज मियाँ माध्यमिक विद्यालय, धोबिनीमा सञ्चालन भएको उक्त तालिमको उद्घाटन वडा नं. ५ का वडाध्यक्ष मनौवर मियाँले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहान, श्री अजिज मियाँ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितेन्द्र राम, श्री कालिप्रसाद माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिओम पटेल, भिखमपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक विनय प्रसाद कुर्मी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धी विषयमा प्रशिक्षक जगमोहन रौनियारले प्रशिक्षण दिनुभएको छ। सहायक प्रशिक्षक गोविन्द पटेलका अनुसार गाउँपालिकाभरिका विद्यालयहरूको शैक्षिक सुधारका लागि शिक्षकहरूलाई IEMIS सम्बन्धी तालिम प्रदान गरिएको हो।
गाउँपालिका शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहानले तालिमका क्रममा विद्यालयमा दिवा खाजा कार्यक्रम, विद्यालय सुधार योजना, समयमा परीक्षा सञ्चालन, नयाँ शिक्षण विधि तथा समग्र शैक्षिक व्यवस्थापन सुधारसम्बन्धी विषयमा समेत पुनरावलोकन तथा अभिमुखीकरण गराइएको जानकारी दिनुभयो।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा धोबिनी गाउँपालिकाभरिका १८ वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ।