काठमाडौँ । विशेष अदालतले धनुषाको हंसपुर नगरपालिकामा सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र इन्जिनियरसहित ५ जनालाई दोषी ठहर गरेको छ । अदालतले सोही मुद्दामा आरोपित उपप्रमुख रेणु देवी झासहित ४ जनालाई भने सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको हो । अदालतले इन्जिनियर दिनेश कुमार मण्डल र सब(इन्जिनियर विनोद मण्डललाई गलत प्रतिवेदन पेस गरेको ठहर गर्दै जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राम लोचन मण्डल, लेखापाल नेत्र लुङ्गेली र निर्माण व्यवसायी (देव कन्स्ट्रक्सनका प्रोप्राइटर) शुभचन्द्र मण्डललाई जनही ४ महिना कैद सजाय सुनाएको छ । अदालतले बढी भुक्तानी भएको रकम ७ लाख ८१ हजार ८१८ रुपैयाँ तीनै जना (राम लोचन, नेत्र र शुभचन्द्र) बाट दामाशाहीले असुल गर्ने फैसला गरेको छ । साथै, अपराध पीडित संरक्षण ऐन बमोजिम जरिवानाको थप ४ प्रतिशत रकम क्षतिपूर्ति शुल्कबापत तिर्नुपर्नेछ ।
अदालतले सोही प्रकरणमा आरोपित नगरपालिकाकी उपप्रमुख रेणुदेवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, प्रशासन शाखा प्रमुख ज्ञानकुमार झा र खरिदार शत्रुघ्न शाहलाई भने सफाइ दिएको छ । उनीहरूको हकमा बदनियत पुष्टि हुने वस्तुनिष्ठ प्रमाण नदेखिएको अदालतको ठहर छ ।
सम्झौताको म्याद समाप्त भइसकेको अवस्थामा पनि कार्य सम्पादन जमानतको अवधि सुनिश्चित नगरी म्याद थप गरिएको र नापी किताबमा भएको भन्दा बढी रकम भुक्तानी दिई राज्यलाई हानि पुर्याएको फैसलामा उल्लेख छ ।
हंसपुर नगरपालिकाको सुगा निकासदेखि कट्टीसम्मको सडकमा पिसिसि ढलान निर्माणका लागि नगरपालिका र देव कन्स्ट्रक्सनबिच २०७७ असार १७ गते सम्झौता भएको थियो ।
उक्त योजनामा वास्तविक रूपमा भएको कामभन्दा बढीको नापी मूल्याङ्कन गरी ७ लाख ८१ हजार ८१८ रुपैयाँ बढी भुक्तानी दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।