काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजाले नेपाली कांग्रेस दोस्रो प्रमुख राजनीतिक शक्ति बने पनि संसदमा इतिहासकै कमजोर उपस्थिति हुने भएको छ । योसँगै पार्टी नेतृत्वले पराजयको जिम्मा लिने कि नलिने भन्नेबारे पनि बहस भइरहेको छ ।
बिहीबारमात्रै सकिएको मतगणना अनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जित्दै प्रतिनिधि सभामा ३८ सांसदसहित प्रतिनिधित्व गर्ने निश्चित भएको छ ।
जेनजी आन्दोलनपछि विशेष महाधिवेशन गरेर गगन थापा सभापति बने । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति चुनिए । उनीहरूकै नेतृत्वमा ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस होमियो ।
निर्वाचनका बेला सभापति थापाले नै सार्वजनिक रूपमा ‘अबकी बार सय पार’ को नारा बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए । यो भनाइको अर्थ कांग्रेसले १०० सिटभन्दा बढी प्रतिनिधि सभामा जित्छ भन्ने थियो ।
तर, निर्वाचनमा कांग्रेस यति नराम्ररी पछारियो कि प्राप्त सिट संख्या हेर्दा इतिहासकै कमजोर उपस्थिति जनाउने बाटोमा अगाडि बढ्यो ।
पार्टीभित्र गरेको विद्रोहले अघिल्लो निर्वाचनमा आएको जनमत सुरक्षित गर्नु त परैको कुरा, टक्कर दिने प्रतिपक्षीसमेत बन्न नसकेपछि सभापति थापाले राजीनामा दिने मनस्थिति बनाएका छन् । निर्वाचनको नजिता पूर्ण रूपमा नआउँदै फागुन २५ गते सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको कुराकानीमा सभापति थापाले आफू नैतिकताका आधारमा राजीनामा दिने मनस्थितिमा पुगेको बताएका थिए ।
भेटमा सभापति थापाले उपसभापति शर्मालाई चुनावमा भोगेको पराजयको जिम्मा लिँदै पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएका शर्माको सचिवालयले सञ्चारमाध्यमहरूलाई जानकारी गराएको थियो ।
चुनावमा पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । म राजीनामा दिन्छु,’ थापाले शर्मालाई भनेका थिए ।
उनले राजीनामा दिने बताएपछि शर्माले निर्वाचनमा पराजित हुनुमा सभापतिको मात्रै दोष नभएको र अहिले राजीनामा दिँदा पार्टी झन् अप्ठ्यारोमा पर्ने भन्दै नदिन सुझाएका थिए । निर्वाचनको समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने र त्यसमा छलफल गर्नुपर्ने शर्माको भनाइ थियो ।
त्यसपछि थापाले मनस्थिति बदलेको उनी निकट स्रोत बताउँछ । ‘राजीनामा दिने तयारी गर्नुभएको थियो । उपसभापतिज्यूसँग भेट भएपछि मनस्थिति बदलेजस्ते लाग्यो,’ थापा निकट स्रोतले भन्यो, ‘अब केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने, त्यो छलफलमा के निष्कर्ष निस्कन्छ, त्यसका आधारमा अगाडि बढ्ने भन्ने उहाँको कुरा छ ।’
कांग्रेस प्रवक्ता देवराज घिमिरेले निर्वाचनको समीक्षा गर्न चैतको पहिलो साताभित्रै बस्नेगरी केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिए । ‘हामी निर्वाचनको समीक्षा गर्न चैतको पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक आह्वान गर्ने तयारीमा लागिरहेका छौँ,’ प्रवक्ता चालिसेले भने ।
‘सभापति थापाले राजीनामा दिने विषय बाहिर आइरहेको छ नि !’ भन्ने प्रश्नमा प्रवक्ता चालिसेले सभापतिको राजीनामा बजारको हल्लाले नआउने बताए । ‘सभापतिज्यूको राजीनामा बजारको हल्लाका कारण आउँदैन,’ चालिसेले भने, ‘निर्वाचनको समीक्षा गर्न हामीले केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेका छौँ । त्यही बैठकमा छलफल भएपछि के गर्ने भन्ने थाहा हुन्छ । सभापतिले राजीनामा दिने केन्द्रीय कार्यसमिति बैठकमा हो । सडकमा होइन ।’
प्रतिनिधि सभा निर्वाचनमा आफू पनि पराजित भएपछि सभापति थापा दबाबमा छन् । थापा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहसँग सर्लाही–४ मा पराजित भएका थिए ।