काठमाडौँ । नेपाली कांग्रेसमा तर्फबाट समानुपातिक प्रणालीतर्फको सांसदमा सिफारिस भएकाहरूमा नेताका परिवार, आफन्त र पटक–पटक मन्त्री भएकाहरूसम्म सिफारिस भएका छन् । तत्कालीन सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीअनुरूप २० सिटमा नेताका परिवार र आफन्तको बाहुल्यता देखिएको हो ।
कांग्रेसको आइतबार बसेको कार्यसम्पादन समिति बैठकले समानुपातिक प्रणालीबाट निर्वाचित हुने १५ महिला र ५ पुरुषको नाम निर्वाचन आयोगमा पठाएको छ । आयोगमा पठाइएको सूचीमा आदिवासी जनजाति क्लस्टरबाट मदनकृष्ण श्रेष्ठ (अपाङ्गता), भीष्मराज आङदम्बे, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचालाई सिफारिस गरेको छ । त्यस्तै खस आर्य क्लस्टरबाट अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती र सीता थपलिया सिफारिस भएका छन् ।
दलित क्लस्टरबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा, मधेशी क्लस्टरबाट डा.चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव, मुस्लिम क्लस्टरबाट साहजान खातुन र थारु क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार सांसदमा सिफारिस भएका छन् ।
निर्वाचन आयोगले निर्धारण गरेको क्लस्टरको सङ्ख्या अनुरूप मिले/नमिलेको निक्र्यौल गरेपछि उनीहरू प्रमाणपत्र पाउनेछन् ।
समानुपातिकमा खसआर्य क्लस्टर पुरुषबाट सिफारिस भएका केसी कांग्रेस सभापति थापाका ससुरा हुन् । उनी यसअघि पटक–पटक सांसद र मन्त्री भएका व्यक्ति हुन् । केसी समकालीन राजनीतिमा सबैभन्दा बढी चुनाव लडेका नेता पनि हुन् ।
७८ वर्षीय केसीले पुस्तान्तरणको मुद्दा झिकेर तत्कालीन सभापति देउवामाथि कटु आलोचना गर्ने गर्थे । विद्यार्थी राजनीति कांग्रेसबाट गरेका केसी २०३८ सालमा राष्ट्रिय पञ्चायतबाट निर्वाचन लडेर निर्वाचित भई राज्यमन्त्री भएका थिए । २०४३ मा राष्ट्रिय पञ्चायनको निर्वाचन दोस्रो पटक लड्दा पराजित भएपछि केसी २०४५ मा जिल्ला पञ्चायतका सभापति भए । २०४६ पछि कांग्रेसमा फर्किएका केसी २०४८, २०५१, २०७० र २०७९ मा नुवाकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन जितेका थिए । अहिले समानुपातिकतर्फबाट सांसद भएपछि उनी आलोचित छन् ।
त्यस्तै मधेसी क्लष्टरबाट सांसद सिफारिस भएका डा. चन्द्रमोहन यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवका पुत्र हुन् । उनी यसअघि पनि सांसद भइसकेका व्यक्तिसमेत हुन् ।
खसआर्य महिलातर्फ सांसद सिफारिस भएकी रीना उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती हुन् । उनी पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएकी थिइन् ।
मधेसी कोटाबाटै संसद्मा सिफारिस भएकी नीनु कर्ण पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी हुन् ।
आदिवासी जनजाति कोटाबाट सांसद सिफारिस भएका भीष्म आङ्दम्बे कांग्रेसको १४ औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका नेता हुन् । पाँचथरका आङदम्बे २०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । २०७४ र २०७९ मा भने प्रत्यक्षतर्फ उम्मेदवार बन्दै पराजित भएका आङदेम्बे अहिले समानुपातिकतर्फबाट सांसद बन्न लागेका हुन् ।
सामाजिक सञ्जालमा रुक्मिणी कोइराला डा. शेखर कोइरालाकी श्रीमती र प्रमीला गच्छदार पूर्वउपसभापति विजयकुमार गच्छदारकी श्रीमती भनेर चर्चा परिचर्चा भए पनि सत्य होइनन् । गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोभिडको समयमा निधन भएको थियो । समानुपातिक संसद्मा सिफारिस भएकी रुक्मिणी कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएकी थिइन् ।