काठमाडौँ । सरकारी अपारदर्शिता र पछिल्ला राजनीतिक नियुक्तिप्रति कडा आपत्ति जनाउँदै 'जेनजी मुभमेन्ट अलायन्स' सडकमा उत्रिएको छ। सोमबार राजधानीको माइतीघर मण्डलामा भेला भएका युवाहरूले आँखामा कालो पट्टी बाँधेर सरकारको कार्यशैली विरुद्ध मौन प्रदर्शन गरेका हुन्।
आन्दोलित युवाहरूले विशेषगरी दुईवटा मागलाई मुख्य मुद्दा बनाएका छन्। पहिलो, लामो समयदेखि गुपचुप राखिएको गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने र दोस्रो, सरकारले गरेका हालैका राजनीतिक नियुक्तिहरू बदर गरिनुपर्ने।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरिनु 'कृपावाद' को पराकाष्ठा भएको अलायन्सको ठहर छ।
बिहान ११ बजेदेखि सुरु भएको उक्त विरोध प्रदर्शनमा सरकारले युवाहरूसँग गरेको पुरानो सहमति उल्लङ्घन गरेको आरोप लगाइएको छ।
राज्यका निकायहरूलाई क्षमताभन्दा पनि दलीय भर्ती केन्द्र बनाउने पुरानै प्रवृत्तिको निरन्तरताले जनआन्दोलनको भावनामाथि चोट पुर्याएको भन्दै अलायन्सले कडा विज्ञप्ति समेत जारी गरेको छ। आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलनका थप कार्यक्रमहरू अघि बढाउने चेतावनी दिँदै युवाहरूले सरकारलाई जवाफदेही बन्न आह्वान गरेका छन्।