काठमाडौँ । कैलालीस्थित वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप सार्वजनिक रूपमा लगाएको विषयमा विद्युतीय अपराधसम्बन्धी उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले दिएको विद्युतीय अपराधसम्बन्धी जाहेरीका आधारमा भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका भट्टलाई हाल जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।
यसअघि भट्टले केही दिनअघि सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। रकम उपलब्ध नगराएपछि पूर्वाग्रह राख्दै आफ्नो सरुवा गरिएको उनले दाबी गरेका थिए।
उक्त आरोप सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भट्टसँग लिखित स्पष्टीकरण मागेको थियो। सोही स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। यस घटनाबारे प्रहरीले विद्युतीय अपराधसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ।