चितवन । कक्षा १० को शैक्षिक गतिविधि सम्पन्न गरी SEE परीक्षाको तयारीमा रहेका नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनका विद्यार्थीहरूले ट्राफिक नियमसम्बन्धी जानकारी हासिल गर्दै एक दिन ट्राफिक स्वयंसेवकका रूपमा सामाजिक सेवा गरेका छन्।
नारायणगढ क्षेत्रका विभिन्न व्यस्त सडकहरूमा खटिएका विद्यार्थीहरूले ट्राफिक प्रहरीसँग सहकार्य गर्दै सवारी व्यवस्थापनमा सहयोग पुर्याएका थिए। उनीहरूले सवारी नियम उल्लंघन गर्नेहरूलाई कारबाहीमा सहयोग गर्नुका साथै जेब्राक्रसिङबाट बाटो काट्ने पैदल यात्रुहरूलाई सहजीकरण गर्ने र सडक प्रयोगकर्ताहरूलाई सुरक्षित रूपमा सडक प्रयोग गर्नेबारे सचेतना प्रदान गरेका थिए।
विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाका अनुसार SEE पश्चात विद्यालय छाड्ने विद्यार्थीहरूलाई लक्षित गर्दै सामाजिक उत्तरदायित्वबोध गराउने तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई नेपाल प्रहरीको दैनिक कार्य, अपराध अनुसन्धान, कानुनी ज्ञान तथा सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी महत्वपूर्ण विषयहरूबारे जानकारी गराइएको थियो।
सचेतना कक्षामा सहभागी विद्यार्थीहरूले सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै ट्राफिक प्रहरीसँगै सडकमा स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए।
जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा कक्षा १० मा अध्ययनरत ५३ जना विद्यार्थीहरू उक्त कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डे, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापा लगायत विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनले विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। साथै, आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि ९ सम्म भर्ना खुला गरिएको विद्यालयले जनाएको छ।