काठमाडौं । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा जलेका १९ हजार फाइल रिकभर (पुन: प्राप्त) भएका छन्।
भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको ६ महिनापछि सर्वोच्च अदालतले १९ हजार १०२ वटा मुद्दाका फाइल प्राप्त गरिसकेको सूचना अधिकारी एवम् उपरजिस्ट्रार निराजन पाण्डेले जानकारी दिए।
उनका अनुसार यसमध्ये ३ हजार ३६६ वटा मुद्दाका फाइल महान्यायाधिवक्ता कार्यालय मार्फत प्राप्त भएका हुन्।
त्यसैगरी सर्वोच्च अदालतले मुद्दा पुन: प्राप्ति गर्नका लागि सार्वजनिक आह्वान समेत गरेको थियो।
त्यसअनुसार सेवाग्राहीमार्फत १५ हजार ७३६ वटा मुद्दाका फाइल फिर्ता भएको उपरजिस्ट्रार पाण्डेले बताए।
यसरी मुद्दाका फाइल फिर्ता गर्नेहरूलाई सर्वोच्च प्रशासनले धन्यवाद पत्र समेत उपलब्ध गराउँदै आएको छ।
सर्वोच्च अदालतले जेनजी आन्दोलन पछि जलेका मुद्दाका फाइल फिर्ता ल्याउनका लागि ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२’ बनाएको थियो।
त्यसअनुसार सर्वोच्च अदालतका मुद्दा महाशाखा हेर्ने रजिस्ट्रारको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ।
उक्त समितिले यसरी प्राप्त भएका मुद्दाका १० हजार फाइललाई प्रमाणीकरण गरिसकेको पनि उपरजिस्ट्रार पाण्डेले बताए।
‘१० हजार मुद्दाका फाइलहरू प्रमाणीकरण भइसकेका छन्। अन्य पनि हुने क्रममा छन्। पुन: प्राप्ति गर्नुपर्ने पनि काम पनि अझै जारी नै छ। अधिकांश रिकभर भइसकेका छन्,’ उनले भने।
भदौ २४ गतेसम्म चालु अवस्थाका २४ हजार २३४ वटा मिसिल थियो।
जसमध्ये २० हजार ३४ वटा मिसिल जलेर पूर्ण क्षति भएको हो। आगलागीबाट ४ हजार २ सय मिसिल भने जोगिएका थिए। जसमध्ये २ हजार ५ सय ९ वटा रिटका मिसिल छन् भने १ हजार ६ सय ९१ मुद्दा थिए।
त्यस्तै सर्वोच्च अदालतको अभिलेखमा रहेका १ लाख ९७ हजार मिसिल पनि नष्ट भएको थियो।
सर्वोच्च अदालत बाहेक उच्च अदालत र जिल्ला अदालतहरूमा पनि आगजनीका कार क्षति भएको थियो।
देशभरका अदालतमा भएका मुद्दा चलिरहेका ६ हजार ५३३ मिसिल जलेका थिए। त्यस्तै अभिलेखमा रहेका ७ लाख ०६ हजार ७१ वटा मिसिल ध्वस्त भएका थिए। त्यस्तै तहसिल तर्फको ४ हजार १८५ मिसिल नष्ट भएको थियो।
देशभरका अदालतमा पनि मुद्दाका फाइलहरू पुन:प्राप्तिका कामहरू भइरहेका छन्।
भदौ २३ गते जेनजी युवाहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गरेका थिए। तर प्रहरीले गोली चलाउँदा त्यसदिन १७ जना मारिएका थिए। त्यसैबीच थप आक्रोश सिर्जना हुँदा भोलिपल्ट देशभरि तोडफोड र आगजनी भएको थियो।
जसक्रममा सर्वोच्च अदालतमा समेत आगजनी भएको थियो। छेवैमा रहेको महान्यायाधिवक्ता कार्यालय र नेपाल बार एसोसिएसनको कार्यालयमा समेत आगजनी हुँदा चालू अवस्थामै रहेका मुद्दाका फाइल जलेर लामो समय प्रभावित भएको थियो।
सर्वोच्चमा क्षति पुगेको दुई दिन पछि नै फुलकोर्ट बैठक बसेको थियो। बैठक बसेर कामकारबाही कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गरिएको थियो। आन्दोलनको एक साता पछि नै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको सुनुवाइ सुरू गरेको थियो।