काठमाडौं । नेपालमा आफ्नो ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी भएको भन्दै कोकाकोला, जुम, ह्युगो बोस जस्ता विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेपछि उद्योग विभागले आरोपित स्वदेशी कम्पनीसँग स्पष्टीकरण माग गरेको छ ।
यसअघि विभागले पठाएको म्याद सूचनालाई बेवास्ता गरी कुनै जवाफ नफर्काएका विभिन्न ११ वटा नेपाली उद्योग तथा कम्पनीलाई विभागले अहिले फेरि ७ दिनभित्र सप्रमाण उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेर अल्टिमेटम दिएको हो ।
विभागका अनुसार ट्रेडमार्क दाबी विरोध गर्दै उजुरी परेका ती उद्योग तथा कम्पनीहरूलाई यसअघि नै ‘संक्षिप्त कार्यविधि ऐन, २०२८’ बमोजिम उजुरीको प्रतिलिपीसहित म्याद सूचना पठाइएको थियो ।
तर, उनीहरूले हालसम्म कुनै पनि लिखित प्रतिक्रिया पेस नगरेको र म्याद तामेली प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सूचना प्रकाशन गर्नुपरेको जनाएको छ ।
सूचना प्रकाशन भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र कानुन शाखामा आइपुग्ने गरी लिखित जवाफ नआएमा कानुन बमोजिम एकतर्फी कारबाही अघि बढ्ने कडा चेतावनी विभागले दिएको छ ।
विभागले सार्वजनिक गरेको सूची अनुसार सबै ११ वटै उजुरी ‘ट्रेडमार्क दाबी विरोध’ सँग सम्बन्धित छन् । जसमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली उत्पादनमा आफ्नो नाम जोडिएको वा हुबहु नक्कल गरिएको दाबी गरेका छन् ।
विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी द कोकाकोला कम्पनी (अमेरिका) ले सुनसरीको प्रिमियर अर्गान्स प्रालि विरुद्ध ‘पलपल कोला’ ब्रान्ड राखेकोमा उजुरी गरेको छ । त्यस्तै कोकाकोलाले नै नेपालको पाथिभरा फुड एन्ड प्याकेजिङ उद्योगविरुद्ध पनि ‘कुल कोला’ र ‘सुपर फ्यान्टास्टिक’ उत्पादनविरुद्ध दुईवटा छुट्टाछुट्टै उजुरी दर्ता गराएको छ ।
त्यसैगरी भिडियो कलिङ एप ‘जुम’ (जुम कम्युनिकेसन्स, अमेरिका) ले झापाको कविश मार्केटिङ प्रालिले उत्पादन गरेको ‘कविश जुम कस्मेटिक्स’ विरुद्ध ट्रेडमार्क चोरीको दाबी गरेको छ । जर्मनीको प्रख्यात लक्जरी ब्रान्ड ह्युगो बोसले झापाकै इमानुर फेसन वेयर इन्डस्ट्रिजविरुद्ध ‘बास’ ट्रेडमार्क प्रयोग गरेकोमा उजुरी दिएको छ ।
यस्तै, कार्टुन नेटवर्क लगायतको प्रख्यात मल्टिमिडिया कम्पनी टर्नर इन्टरटेनमेन्ट (अमेरिका) ले चितवनको नौलो फुड्स इन्डस्ट्रिजविरुद्ध ‘किङकर्न लोटरी’ र भक्तपुरको पवित्रा लक्ष्मी फुड प्रोडक्ट्सको ‘जेरिज कोन’ उत्पादन विरुद्ध उजुरी गरेको छ ।
यसैगरी, इनर्जी ब्रान्ड्स (अमेरिका) ले रुपन्देहीको एक्वा नेपाल बिसलेरीलाई ‘एएनबीएस गुड ड्रिंक्स’ र काठमाडौंको मनोहरा फुड एन्ड बेभरेजलाई ‘डीजी स्मार्ट एचटुओ’ उत्पादनविरुद्ध उजुरी हालेको छ ।
न्युजिल्यान्डको प्रख्यात आउटडोर ब्रान्ड काठमाडौं लिमिटेडले काठमाडौंको ओम मंगलाकाली टेक्सटाइललाई ‘द ओन काठमाडौं’ ब्रान्डमा र विश्वप्रसिद्ध साइकल ब्रान्ड ट्रेक बाइसाइकल (अमेरिका) ले वीरगञ्जको टर्बो ट्रेकलाई ‘टर्बो ट्रेक’ ब्राण्डविरुद्ध उजुरी दिएका छन् ।
नेपालमा पछिल्लो समय बौद्धिक सम्पत्ति बढ्दै गए पनि विदेशी स्थापित ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर स्थानीय स्तरमा वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने प्रवृत्ति पनि उत्तिकै देखिएको छ ।
बहुराष्ट्रिय कम्पनीहरू आफैं अघि सरेर उजुरी दिएपछि चालिएको विभागको यो कदमले नेपालमा अन्तर्राष्ट्रिय तथा स्वदेशी ट्रेडमार्क संरक्षणमा थप कडाइ हुन थालेको संकेत दिएको छ ।