काठमाडाैं । निर्वाचनमा आफू र पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले दिएको राजीनामालाई कांग्रेसले अस्वीकार गर्ने तयारी गरेको छ । उपसभापति विश्वप्रकाश शर्माका अनुसार शुक्रबार (आज) दिउँसो बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ । थापाले बुधबारै शर्मासमक्ष राजीनामा दिएका थिए ।
‘नैतिक जिम्मेवारी लिन्छु भन्नु सकारात्मक । तर, यति वेलाको नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो,’ शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘बैठकमा प्रारम्भिक समीक्षा, सभापतिको राजीनामा–पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ ।
उपसभापति शर्माले चुनावी परिणामको दोष अहिले सभापति थापालाई मात्रै लगाउनु अन्याय हुने पनि बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ।’
२१ फागुनको निर्वाचनमा पार्टीको पक्षमा लज्जास्पद नतिजा आएपछि थापाले २५ फागुनमै शर्मालाई भेटेर राजीनामा दिने बताएका थिए । तर, शर्माले त्यति वेला राजीनामा नदिन सुझाएका थिए ।
कांग्रेसले प्रतिनिधिसभामा २७५ सिटमध्ये जम्मा ३८ सिट जितेको छ । प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जितेर कांग्रेस दोस्रो स्थानमा रहे पनि पहिलो दल रास्वपाभन्दा १४४ सिटले पछाडि छ । रास्वपाले १८२ सिट जितेको छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा ८८ सिट जितेर कांग्रेस संसद्को सबैभन्दा ठुलो दल बनेको थियो ।
एक नेताका अनुसार शुक्रबारको बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । बैठकमा उनले सभापति थापाको राजीनामाबारे जानकारी दिनेछन् र उक्त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गर्नेछन् । ‘शुक्रबारको बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव सर्वसम्मतिले पास हुनेछ,’ ती केन्द्रीय सदस्यले भने ।
प्रवक्ता देवराज चालिसेले चुनावी समीक्षालगायत सबै विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने जानकारी दिए । ‘सभापतिज्यूको राजीनामा औपचारिक रूपमा बैठकमा पेस भएपछि मात्रै आधिकारिक रूपमा बोल्ने ठाउँ हुन्छ । अहिले त्यसबारेमा मैले बोल्ने विषय छैन,’ थापाको राजीनामाबारे उनले भने ।
कांग्रेस नेताहरूका अनुसार सभापति थापाको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्नेछ । ‘केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेपछि उहाँ जिम्मेवारीमा फर्किनुपर्छ । उहाँ जिम्मेवारीमा फर्किनुहुन्छ भन्नेमा हामीलाई पूरा विश्वास छ,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने ।
कांग्रेसको १४औँ महाधिवेशनमा चुनिएका महाधिवेशन प्रतिनिधिहरूले आयोजना गरेको विशेष महाधिवेशनबाट १ माघमा थापा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । निर्वाचित भएको ५० दिनमा कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा गएको थियो । कांग्रेस उपसभापति शर्माले चुनावी परिणाम आएलगत्तै सार्वजनिक दुई भिडियो सन्देशमा पार्टीले चुनावमा व्यहोरेको हारको कारक वर्तमान नेतृत्व नभएर निवर्तमान नेतृत्वसमेत भएको टिप्पणी गरेका थिए ।