काठमाडौं । आतंकवादी गतिविधि हुने देशहरुको सूची अनुसार नेपालको स्थिति विगतको वर्षको तुलनामा उल्लेख्य सुधार भएको छ ।
अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको एक स्वतन्त्र र गैर–नाफामूलक संस्था ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ले प्रकाशित गरेको सन् २०२६ को सूची अनुसार गत वर्षको तुलनामा नेपालको स्थानमा उल्लेख्य सुधार भएको हो ।
सन् २०२५ मा ६८ औं स्थानमा रहेको नेपाल अहिले भने ८९ औं स्थानमा रहेको छ । यसले नेपालमा सुरक्षा स्थिति बलियो भएको र आतंकवादी गतिविधि कम भएको जनाउँछ ।
नेपालको यो सुधार अन्य देशको तुलनामा निकै ठूलो रहेको बताइएको छ । सन् २०२५ मा नेपालमा कुनै पनि आतंकवादी गतिविधि तथा आक्रमणहरु भएको नदेखिएको रिपोर्टमा उल्लेख छ । माओवादी सत्तारुढ गठबन्धनको हिस्सा बनेकाले आतंकवादको कुनै रिपोर्ट नदेखिएको उल्लेख छ ।
१६३ देशहरुको सूचीमा पाकिस्तान भने पहिलो नम्बरमा छ । भारत १३ औं स्थानमा छ । गत वर्षको तुलनामा भारत दुई स्थान तल झरेको हो । यसअघि भारत ११ औं स्थानमा थियो । भारतमा पछिल्लो एक वर्षमा आतंकवादी घटनाहरूमा ४३ प्रतिशतले कमी आएको बताइन्छ ।
अहिले अफगानिस्तान ११ औं, म्यानमार १४ औं र बंगलादेश ४२ औं स्थानमा छन् । भुटान र श्रीलंका भने आतंकवादी गतिविधि शून्य भएका देशहरुको सूचीमा छन् ।
दक्षिण एसिया आतंकवादबाट सबैभन्दा बढी प्रभावित
उक्त सूचीका अनुसार दक्षिण एसिया लगातार दश वर्षसम्म आतंकवादबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ । पहिलो पटक पाकिस्तान यस सूचीको शीर्ष स्थानमा पुगेको छ र आतंकवादबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ ।
अफगानिस्तानको स्थितिमा भने सुधार आएको छ र यो अहिले शीर्ष १० देशहरूको सूचीबाट बाहिरिएको छ ।
सन् २०२५ मा विश्वभर आतंकवादबाट हुने मृत्युमा २८ प्रतिशतले कमी आएको छ । आतंकवादी हमलाको संख्या पनि करिब २२ प्रतिशतले घटेर २ हजार ९४४ पुगेको छ । समग्रमा यस वर्ष ८१ देशको स्थितिमा सुधार आएको छ भने १९ देशको स्थिति बिग्रिएको छ ।
पश्चिमी देशहरूको अवस्था
पश्चिमी देशहरूमा आतंकवादका कारण हुने मृत्युमा करिब २८० प्रतिशतको वृद्धि भएको छ । साथै, युरोपियन युनियन (ईयू) को रिपोर्ट अनुसार सन् २०२४ मा १४ वटा ईयू सदस्य राष्ट्रहरूमा कुल ५८ वटा आतंकवादी हमलाहरू दर्ता भएका थिए ।
फ्रान्समा १४ हमला र जर्मनीमा ६ हमला भएका । ईयू देशहरूमा आतंकवादसँग सम्बन्धित मामिलामा ४४९ जनालाई पक्राउ गरिएको छ । बेलायतमा मात्रै ३ हजार भन्दा बढी मानिसहरू पक्राउ परेका छन् ।