काठमाडौँ । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको लिपुलेक भञ्ज्याङबाट हुने भारत–चीन सीमा व्यापार ६ वर्षपछि पुनः सुरु हुने भएको छ। सन् २०१९ देखि बन्द रहेको यो व्यापारिक नाका सन् २०२६ को व्यापारिक सिजनका लागि खोल्ने प्रक्रिया अघि बढेको हो।
पिथौरागढका जिल्ला अधिकारी आशिष भट्टगाईंले केन्द्रीय सरकारको निर्देशनपछि जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापारिक सत्रका लागि आवश्यक तयारी सुरु भएको जानकारी दिएका छन्। भारतको विदेश मन्त्रालयले यसका लागि एनओसी जारी गरिसकेको छ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई पत्राचार गर्दै हिमाली नाकाबाट व्यापार पुनः सुचारु गर्न अनुरोध गरेका छन्। गृह मन्त्रालय र वाणिज्य तथा उद्योग मन्त्रालयले समेत यसका लागि अनुमति दिइसकेका छन्।
जिल्ला प्रशासनलाई सन् २०२६ को व्यापारिक सिजनका लागि सम्बन्धित विभागहरूसँग समन्वय गरी पूर्ण रूपमा तयार रहन निर्देशन दिइएको छ। दुवै पक्षबीच समन्वय बढाउन स्थानीय अधिकारीहरूको सम्पर्क विवरण चिनियाँ पक्षसँग साझा गरिने बताइएको छ।
व्यापारिक गतिविधि सुचारु गर्नका लागि ट्रेड पास जारी गर्ने निकाय, मुद्रा विनिमय गर्ने बैंक, भन्सार विभाग र धार्चुला प्रशासनलाई विस्तृत कार्ययोजना बनाउन निर्देशन दिइएको छ। यस अन्तर्गत व्यापारीहरूका लागि ट्रान्जिट क्याम्प, सञ्चार सुविधा, बैंकिङ सेवा, सुरक्षा परिचालन र चिकित्सा सहयोगको व्यवस्था मिलाइनेछ। सन् १९९२ मा लामो समयको अवरोधपछि खुलेको लिपुलेक मार्ग कोभिड–१९ महामारीका कारण सन् २०१९ देखि पुनः बन्द भएको थियो।
यस निर्णयको पिथौरागढका स्थानीय व्यापारीहरूले स्वागत गरेका छन्। सीमान्त व्यापार संगठनका अध्यक्ष जीवन सिंह रोन्कालीले नाका खुल्ने भएपछि सन् २०१९ देखि तिब्बतको तकलाकोटस्थित गोदाममा थन्किएका सामानहरू ल्याउन सहज हुने बताए।
एएनआईसँग कुरा गर्दै भट्टगाईंलेले व्यापारको तयारीका सम्बन्धमा अधिकारीहरूलाई निर्देशन दिइएको बताएका छन्। उनले यसका लागि व्यापारीहरूमा देखिएको उत्साहबारे पनि चर्चा गरे। ‘मैले लिपुलेख भञ्ज्याङमार्फत हुने व्यापारसँग सम्बन्धित एउटा बैठक बोलाएको थिएँ। सन् २०१९ पछि यो मार्गबाट व्यापार पुनः सुरु हुँदैछ। त्यसैले यस सम्बन्धमा छलफल भयो। सबै अधिकारीहरूलाई यसका लागि समयमै तयारी गर्न निर्देशन दिइएको छ। ६ वर्षपछि यो पुनः सुरु हुन लागेकाले उत्साह छ। व्यापारीहरू पनि उत्साहित छन् र यसको तयारी गरिरहेका छन्,’ उनले भने।
सन् २०१९ को अघिल्लो व्यापार सत्रको तथ्याङ्कबारे प्रकाश पार्दै, डीएमले पहिलेकै जस्तै संख्यामा व्यापार पास जारी हुने अपेक्षा व्यक्त गरे। ‘पहिलेकै जस्तै संख्यामा व्यापार पासहरू जारी हुने अपेक्षा गरिएको छ र व्यापारीहरूले पनि तयारी गरिरहेका छन्। सन् २०१९ को पछिल्लो व्यापार सत्रमा करिब १.९ करोड भारु बराबरको आयात र करिब १.३ करोड भारु बराबरको निर्यात रेकर्ड गरिएको थियो। यस व्यापारमा संलग्न स्थानीय व्यापारीहरूसँग चाँडै अर्को बैठक बस्नेछ,’ उनले बताए।
अगस्ट २०२५ मा, भारत र चीन नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र रहेको लिपुलेख भञ्ज्याङ मार्फत सीमा व्यापार पुनः सुरु गर्न सहमत भएका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा यो सहमति भएको हो।
भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबिचको भेटवार्तामा दुवै देश यसमा सहमत भएका हुन्। संयुक्त विज्ञप्तिको बुँदा नम्बर ९ मा सीमा व्यापार पुनः सुरु गर्ने उल्लेख छ। त्यहाँ भनिएको छ, ‘दुवै पक्षले तीनवटा तोकिएका व्यापारिक बिन्दुहरू अर्थात् लिपुलेख भञ्ज्याङ, शिपकी ला भञ्ज्याङ र नाथु ला भञ्ज्याङ मार्फत सीमा व्यापार पुनः सुरु गर्न सहमति जनाएका छन्।’