पर्सा । वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने अलौ नाका पछिल्लो समय अनधिकृत ओसारपसार (तस्करी)को प्रमुख मार्ग बन्न पुगेको छ। स्थानीय बासिन्दाहरूको गुनासो अनुसार, भारतीय बजार रक्सौलबाट साइकल र मोटरसाइकलमार्फत कपडा, किराना, हार्डवेयर, मोबाइल पार्टपुर्जा र सुर्तीजन्य वस्तुहरू बिहानदेखि रातिसम्म निरन्तर नेपाल भित्रिरहेको छ।
तर, यस अवैध गतिविधिलाई नियन्त्रण गर्नेको सट्टा, सीमा प्रहरी चौकी ड्राइपोर्टका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) श्याम यादव माथि तस्करहरूसँग मिलेर लाइन दिएको आरोप उठेको छ। स्रोतका अनुसार, सई यादव आर्थिक लाभका लागि आफ्नो सेवा अवधि अधिकांश समय आकर्षक र लाभदायी चौकीहरूमा बिताउने र उच्च तहका अधिकारीहरूसँग सुमधुर सम्बन्ध राख्ने रीतमा लामो समय सीमावर्ती क्षेत्रमा टिकिरहेका छन्।
सई यादवले ‘सिंह’ थरका एक घुमुवा प्रहरीलाई अवैध आर्थिक संकलनको माध्यम बनाएको र सीमा क्षेत्रमा असुली गर्दै आएको भन्ने स्थानीय बासिन्दाहरूको गुनासो छ।
यसरी व्यक्तिगत स्वार्थ र पहुँचको भरमा काम गर्ने प्रहरीका कारण सीमा सुरक्षा कमजोर बन्नुका साथै वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको देखिन्छ।
नयाँ सरकार गठनको प्रक्रिया जारी रहेको बेला, नागरिकहरूले यस्ता भ्रष्ट प्रवृत्तिका सुरक्षा कर्मीहरूलाई कारबाहीको दायरामा ल्याई सीमा प्रशासनमा सुधार आवश्यक रहेको माग गरेका छन्। उनीहरूको तर्क अनुसार, यसले मात्र राज्यको राजस्व सुरक्षित राख्ने होइन, विधिको शासन र न्यायको अनुभूति पनि आम नागरिकसम्म पु¥याउन सकिन्छ।