मध्यपूर्वमा फैलिएको युद्धको डढेलो युद्धसँगै अहिले ‘वाक युद्ध’का कारण झनै संसयपूर्ण अवस्थामा रहेको छ। इरानले तेल ढुवानी मार्गका रुपमा परिचित ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेपछि डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र उक्त जलडमरुलाई नखोले इरानका ऊर्जा केन्द्रहरू ध्वस्त बनाउने चेतावनी दिएको छ।
ट्रम्पको उक्त चेतावनीको केही घण्टा नबित्दै इरानले आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण गरे खाडी राष्ट्रहरूमा रहेका अमेरिकी ऊर्जा केन्द्र उडाइने बतायो। त्यसयता इरानले निरन्तर अमेरिकालाई चेतावनी दिइरहेको छ। पछिल्लो पटक आइआरजीसीले अमेरिकाले ऊर्जा केन्द्रलाइ लक्ष्य बनाए सधैँका लागि स्ट्रेइट अफ हर्मुज बन्द गर्दिने धम्की दिएको छ। ट्रम्पले दिएको अल्टिमेटमको करिब १७ घण्टा बाँकी रहँदा कहाँ के भयो?
इजरायलको निरन्तर हवाई हमला
इजरायलले अमेरिकी चेतावनीपछि निरन्तर इरान तथा लेवनानका इलाकाहरूमा हवाइ हमला गरेको छ। जवाफमा इरानले पनि सयौं क्षेप्यास्त्रहरू इजरायलमा निशाना बनाइरहेको छ। आईडीएफले लेबनानमा हिज्बुल्लाहविरुद्ध आक्रमण विस्तार गर्ने योजना स्वीकृत भएको पनि जनाएको छ, जसले ठूलो स्तरको स्थल आक्रमण (ग्राउन्ड इन्भेसन) को आशंकालाइ बढवा दिएको छ। यसबिच इरानले आफ्नो भूमि उल्लंघन नगर्ने र सार्वभौम इरानको सुरक्षाका लागि सहयोग गर्ने र सहानुभूति राख्ने सम्पूर्ण देशका लागि जलमरुड पूर्ण रुपमा खुल्ला रहेको बताएको छ।
साथै, उसले कडा शब्दमा आफ्नो ऊर्जा संरचनामाथि आक्रमण भएमा यसलाई ‘पूर्ण रूपमा बन्द गर्न तयार’ रहेको चेतावनीसमेत दिएको छ।
ट्रम्प र बेलायती प्रधानमन्त्री केइर स्टारर्मरबिच टेलिफोन वार्ता
अमेरिकाले पटक-पटक नाटो सदस्य राष्ट्रहरुलाइ सहयोगका लागि अपिल गरीरहेका छन्। तर उनले अपेक्षा गरेअनुसारको पर्याप्त सहयोग नपाइरहँदा बेलायतका प्रधानमन्त्री केइर स्टारर्मरलाइ टेलिफोन गरेका छन्।
राष्ट्रपति ट्रम्प र स्टारर्मरबिच आइतबार राति फोन वार्ता भएको छ। दुवैले ‘स्ट्रेइट अफ हर्मुज’ पुन:खोलिनु पर्नमा एकमत रहेको बताएका छन्। उनीहरु दुबैले ‘विश्वव्यापी ढुवानी पुनः सुचारु गर्न अत्यावश्यक’ रहेकोमा सहमति जनाएका छन्। तर अमेरिकाले अपेक्षा गरेजस्तो बेलायतले सैन्य सहयोगको विषयमा ट्रम्पलाई के जवाफ दियो भन्ने बारेमा भने केही खुलाइएको छैन।
यसैबिच प्रधानमन्त्री स्टार्मरले आज दिउँसो सरकारी आपतकालीन समिति र बेन्क अफ इंग्ल्यान्डका गभर्नरसँग बैठक गरी युद्धले पुर्याइरहेको आर्थिक असरबारे छलफल गर्दै छन्।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी प्रमुखको चेतावनी
यो बिचमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले तेल ढुवानी सुस्ताउँदा विश्वका कुनै पनि देश यो असरबाट मुक्त नरहने चेतावनी दिएका छन्। उनले विश्व अहिले १९७० को दशकभन्दा पनि गम्भीर ऊर्जा संकटतर्फ उन्मुख हुन सक्ने बताउँदै तत्काल समस्या समाधान तर्फ अघि नबढे विश्वले कहिलेही नदेखेको उर्जा संकट देख्ने बताए।
एशियाली सेयर बजारमा भारी गिरावट
सोमबार अमेरिकाले र इरानले द्वन्द्व अझ चर्काउने संकेत दिएपछि एशियाका प्रमुख शेयर बजारहरू तीव्र रूपमा घटेका छन्। जापानको निक्केई २२५ सूचक करिब ४.८% ले घट्यो।
त्यस्तै, दक्षिण कोरियाको कोस्पी सूचक ५.५% भन्दा बढीले ओरालो लाग्यो। तेलको मूल्यमा भने भारी उतार–चढाव देखियो। ब्रेन्ट क्रूड करिब ०.८% घटेर प्रति ब्यारेल १११.२५ डलरमा झर्यो। त्यस्तै अमेरिकी तेलको मूल्य लगभग स्थिर रहँदै ९८.१८ डलर आसपासमा रह्यो।