काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्री छनोटमा जुटेका छन् ।
बिहीबार मात्रै वरिष्ठ नेता शाह संसदीय दलको नेता चयन भएका थिए । यससँगै दुई नेताहरू मन्त्री छनोटको गृहकार्यमा जुटेका हुन् ।
बालेनले शुक्रबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । तर, मन्त्रालय र मन्त्रीहरूको टुङ्गो नलाग्दा सभापति लामिछाने र वरिष्ठ नेता शाह सकभर आजै मन्त्री छनोटको टुङ्गोमा पुग्ने गरी आन्तरिक छलफलमा जुटेको एक नेताले बताए ।
ती नेताका अनुसार मन्त्रालयको सङ्ख्या १८ वटा बनाउने कि १६ राख्ने भन्नेमा छलफल जारी छ । को–को मन्त्री बन्ने भन्नेमा पनि छलफल जारी छ ।
‘मन्त्रालयको सङ्ख्या घटाउने र मन्त्री छनोटको जिम्मा सभापति र वरिष्ठ नेतालाई दिइएको छ । अहिलेसम्म टुङ्गोमा पुगिएको छैन । बेलुका अबेरसम्म टुङ्गिएला । अहिले दुई जना नेताहरू छलफलमै हुनुहुन्छ’, रातोपाटीसँग ती नेताले भने ।
दिउँसो संसद् भवन सिंहदरबारमा नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएपछि रवि र बालेन केन्द्रीय समिति र संसदीय दलको बैठकमा भाग लिन केन्द्रीय कार्यालय वनस्थली पुगेका थिए ।
बैठकमा सभापति रविले बालेनलाई दलको नेता बनाउने प्रस्ताव सर्वसहमतिले अनुमोदन गरेको थियो । बैठकमा रविले नेतृत्वमाथि विश्वास गर्न भनेका थिए । विषय विज्ञता, क्षमता, समावेशीको आधारमा मन्त्री छनोट गरिने उनले आश्वासन दिएका थिए ।
‘मन्त्री छनोटबारे बैठकमा केहि छलफल भएन । बालेनलाई दलको नेता बनाउने सभापतिको प्रस्ताव सर्वसहमतिले पारित भयो’, अर्का एक सदस्यले भने, ‘उहाँले नेतृत्वलाई विश्वास गर्नुहोस् । सबै मिलाएर मन्त्री छनोट गर्छौँ भन्नुभयो ।’
एक हप्तादेखि रवि र बालेन काठमाडौँको एक होटलमा छलफलमा रहे पनि निष्कर्षमा पुगेका छैनन् । केन्द्रीय सदस्य भूपदेव शाहले भोलि प्रधानमन्त्रीसँगै मन्त्रीहरूले पनि शपथ लिने गरी छलफल भइरहेको बताए ।
‘मन्त्रालयको सङ्ख्या घटाउने र मन्त्री छान्नेबारे दुई जनाबिच छलफल जारी छ । रातिसम्म टुङ्गिन्छ होला’, उनले भने ।
यस्तै मन्त्रिपरिषद्मा कम्तीमा ६ जना महिलालाई समावेश गर्न महिला नेताहरूले सुझाव दिएका छन् । भूगोल, कार्यक्षमताको आधारमा ३३ प्रतिशत महिला सहभागी गराउन सुझाव दिइएको एक महिला नेताले जानकारी दिइन् ।
सरकारमा ३३ प्रतिशत पुर्याउन नसके संसदीय समितिको सभापति आफूहरूलाई दिनुपर्ने माग गरेका छन् । ‘राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला हुनुपर्छ । अब बन्ने १८ जनाको मन्त्रिपरिषद् कम्तीमा ६ जना महिला सदस्य राख्न सुझाव दिएका छौँ’, ती सदस्यले भनिन् ।
अर्थमा डा. स्वर्णिम वाग्ले निश्चित भए पनि अन्य मन्त्रालयमा टुङ्गो लागेको छैन । रास्वपा स्रोतअनुसार परराष्ट्रमा शिशिर खनाल र स्वास्थ्यमा डा. लेखजंग थापाको सम्भावना छ ।
गृहमन्त्रीमा डिपी अर्याल र सुनिल लम्सालबिच कुरा मिलेको छैन । यस्तै सभामुख र अन्य मन्त्रालयमा आकाङ्क्षी धेरै देखिएकाले भोलि नै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा नेताहरूले शङ्का व्यक्त गरेका छन् ।