चितवन। जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालहरूको सेवा गुणस्तरप्रति असन्तुष्टि बढेपछि प्रशासनले सुधारका लागि कडा निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालका व्यवस्थापक तथा सञ्चालकहरूसँगको छलफलमा बिरामीमैत्री सेवा सुनिश्चित गर्न आग्रह गरेका हुन्।
उनले स्वास्थ्यकर्मीहरूलाई बिरामीप्रति संवेदनशील र जिम्मेवार व्यवहार गर्न निर्देशन दिँदै अस्पताल सञ्चालनमा पारदर्शिता र नियमअनुसारको प्रक्रिया अपनाउनुपर्नेमा जोड दिए। चिकित्सकको व्यवहारदेखि सेवा सञ्चालनसम्म विभिन्न क्षेत्रमा कमजोरी देखिएको उल्लेख गर्दै उनले डायलासिसजस्ता सेवा विधिवत् दर्ता नगरी सञ्चालन गरिएको, एम्बुलेन्समार्फत कमिसन लिने प्रवृत्ति तथा अस्पतालजन्य फोहोर व्यवस्थापनमा लापरबाही भइरहेको बताए।
सीडीओ अर्यालले बीमा र नगद तिर्ने बिरामीबीच भेदभाव हुने गरेको, अनावश्यक परीक्षण गरिने, विपन्न नागरिकको उपचारमा पर्याप्त ध्यान नदिइएको तथा ज्येष्ठ नागरिकले पाउनुपर्ने सहुलियतबाट वञ्चित भएको विषय पनि उठाए। साथै, कर्मचारी व्यवस्थापन, टोकन प्रणाली र बहिरङ्ग सेवामा सुधार आवश्यक रहेको उनको भनाइ थियो।
“स्वास्थ्य सेवा केवल उपचार होइन, व्यवहार पनि हो,” उनले भने, “सेवाको गुणस्तर सुधार्न कार्यशैली नै परिवर्तन गर्नुपर्छ।”
जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयद्वारा आयोजित ‘नागरिक स्वास्थ्य सेवा’ सम्बन्धी परामर्श कार्यक्रममा अस्पताल पक्षले पनि आफ्ना समस्या राखेका थिए। भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले पछिल्लो समय बहिरङ्ग सेवामा सुधार भएको जानकारी दिँदै अझ व्यवस्थित बनाउन प्रयास भइरहेको बताए।
त्यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा सुधारका संकेत देखिए पनि सरकारी भुक्तानी समयमै नहुँदा सेवा विस्तारमा कठिनाइ भइरहेको उल्लेख गरे।
कार्यक्रममा निजी अस्पताल सञ्चालकहरूले राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए भने यातायात व्यवसायीहरूले पनि स्वास्थ्य सेवामा समन्वय र सुधारका लागि सुझाव प्रस्तुत गरेका थिए।