काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको १५ दिन बितिसक्दा पनि नयाँ नियुक्ति प्रक्रिया अगाडि बढेको छैन । बिचौलिया दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा चौतर्फी प्रश्न उठेपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए, तर उनीमाथि लागेका आरोपबारे छानबिन गर्न सरकार र उनको पार्टी रास्वपाले कुनै अग्रसरता देखाएको छैन ।
वैशाख २० गते बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकमा पनि यस विषयमा कुनै छलफल नभएको प्रवक्ता मनिष झाले जिकिर गरे । वैशाख २८ गते संसद् बैठक आह्वान भएकाले छानबिन समिति गठनबारे छलफल हुन सक्ने झाको भनाइ छ ।
‘छानबिन समिति बनाउने विषयमा पार्टीभित्र छलफल भएको छैन । अनुशासन समितिले पनि प्रक्रिया अगाडि बढाएको छैन । वैशाख २८ गते संसद् बैठक आह्वान भएकाले त्यहाँ नै छलफल होला’, रातोपाटीसँग झाले भने ।
यसअघि रास्वपा अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले गुरुङको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि नबढेको बताएका थिए । गुरुङले राजीनामा नदिँदै वैशाख ७ गते केन्द्रीय समितिको बैठकको निर्णय कुरेर बसेको आयोगले स्पष्ट जबाफ नआएपछि छानबिन प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आफैँले राखेका छन् ।
स्रोतका अनुसार गृह मन्त्रालयको जिम्मेवारीमा पार्टी सभापति रवि लामिछानेले आफ्नो निकटकालाई पठाउन चाहेका छन् । गुरुङले राजीनामा दिएकै बेला गृहमन्त्री बन्नका लागि महामन्त्री कवीन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, सचिवालय सदस्य दीपक बोहराले दाबी गरेका थिए । तर प्रधानमन्त्री शाह गृह मन्त्रालयको जिम्मेवारी अरुलाई दिन सकारात्मक देखिएका छैनन् । गुरुङमाथि लागेको आरोपमाथि छानबिन भई सफाइ पाएर फर्किने सम्भावना बलियो बन्दै गएको स्रोतको दाबी छ ।
‘गृहमन्त्रीमा सुधनजी नै फर्किने सम्भावना देखिन्छ । उहाँले रवि र बालेनको मिलन आफूले नै गराएको दाबी गर्दै आउनु भएको छ,’ स्रोतले भन्यो ।
रविले आफू निकटकालाई गृहमन्त्री बनाउन चाहे पनि यस विषयमा प्रधानमन्त्रीसँग खुलेर कुरा गर्न नसकेको स्रोतको भनाइ छ । ‘यतिसम्म कि बालेन र रविलाई दबाबमा राख्न सुधन गुरुङले आफ्ना समर्थकलाई सडकमा समेत उतार्नुभएको छ । जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालय प्रधानमन्त्रीले लामो समय होल्ड गर्दा चित्त बुझेको छैन । तर खुलेर भन्न सक्ने अवस्था पनि देखिँदैन, सबै थर्कमान छन्,’ रास्वपा स्रोतले भन्यो ।
गुरुङका समर्थकले राजीनामा फिर्ता गराउन सडक प्रदर्शन गरेका छन् । अहिले पनि गुरुङकै सचिवालयले गृह मन्त्रालयको काममा भूमिका बढाइरहेकाले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले दोस्रो पक्षलाई छोड्न नचाहेको प्रस्ट देखिन्छ । गृह मन्त्रालयको जिम्मेवारी दिने विषयमा प्रधानमन्त्री बालेन र सभापति रविबिच पहिले पनि मतभेद देखिएको थियो । रविले आफू निकट उपसभापति डोलप्रसाद अर्याललाई गृहमन्त्री बनाउन जोडबल गरेका थिए । बालेनले आफू निकट सुनिल लम्साललाई मन्त्री बनाउन निकै बल गरेका थिए । तर रवि र बालेनबिच मत नमिल्दा अन्तिममा गुरुङलाई गृहमन्त्री बनाइएको थियो ।
अहिले पनि गृह मन्त्रालयको काममा गुरुङ मन्त्री हुँदा स्वकीय सचिव रहेका जेम्स कार्कीले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालमार्फत प्रधानमन्त्री बालेनलाई सघाइरहेका छन् । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले लिए पनि गृह मन्त्रालयमा मन्त्री लम्सालमार्फत सबै काम भइरहेको बुझिएको छ ।
राजीनामा दिएको घोषणा गर्दै गर्दा पनि गुरुङले आफूमाथि लागेको आरोप अस्विकार गरेका थिए । गुरुङले पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् भनेर नै नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका थिए ।
‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु’, उनले भनेका थिए ।
गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको क्रममा पानी बाँढ्न सडकमा निस्किएका गुरुङ एकाएक जेनजी अगुवाको रूपमा उदाएका थिए । सुरुमा निर्वाचनको विरोध गरेका उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई बारम्बार दबाब दिएका थिए ।
पुस १३ गते बालेन र रविबिच ७ बुँदे सहमति भएपछि गुरुङ रास्वपामा प्रवेश गरेका थिए । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा(रास्वपा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका गुरुङ चैत १३ गते गृहमन्त्री बनेका थिए । गृहमन्त्री बने लगत्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न लगाएर उनले चर्चा कमाएका थिए । चैत १५ गते विवादित पृष्ठभूमिका व्यापारी दिपक भट्ट पक्राउ परे । तर सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका भट्टसँग कनेक्सन भेटिएको समाचार बाहिरिएपछि गुरुङमाथि नैतिक प्रश्न उठेको थियो ।