समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न थालेको छ।
समितिले बुधबार सूचना जारी गर्दै १० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको जनाएको हो। समितिका अनुसार अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गरिनेछ।
समितिले सम्बन्धित ऋणीहरूलाई तत्काल कार्यालयमा सम्पर्क गरी बाँकी ऋण चुक्ता गर्न आग्रह गरेको छ। समयमै ऋण नतिरे कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।
समितिले अन्य ऋणीहरूलाई पनि ढिलाइ नगरी कार्यालयमा सम्पर्क गरेर दायित्व भुक्तानी गर्न अनुरोध गरेको छ।
यसपटक सार्वजनिक गरिएका सहकारीमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।