चितवन । चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौंको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्ट सेवासहितका अस्पताल सञ्चालन हुने भएका छन्।
तीनकुनेमा निर्माणाधीन अस्पताल अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा हालै नयाँ अस्पतालको शिलान्यास गरिएको छ। चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार ‘सिएमसी काठमाडौं’ नामबाट आगामी दशैँको घटस्थापनादेखि सेवा सुरु गर्ने तयारी गरिएको छ।
करीब १७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त अस्पतालमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको जनाइएको छ। अस्पतालको व्यवस्थापन प्रारम्भिक चरणमा भारतको मेदान्त अस्पतालले गर्ने बताइएको छ।
तीन सय श्ययाको अस्पतालमा क्यान्सर उपचारसहित विभिन्न अतिविशिष्ट सेवाहरू उपलब्ध गराइनेछ। अत्याधुनिक उपकरण र अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा ल्याउन लागिएको न्यौपानेले बताए। विभिन्न देशमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकले सेवा दिने जनाइएको छ।
उनका अनुसार यो नेपाली निजी क्षेत्रको लगानीमा निर्माण हुने सबैभन्दा ठूलो अस्पतालमध्ये एक हुनेछ। अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि भारतलगायत विदेश जाने बिरामीले नेपालमै गुणस्तरीय सेवा पाउने दाबी गरिएको छ।
यस्तै, सिएमसीको नेतृत्वमा हेटौँडामा पनि ‘सिएमसी हेटौँडा अस्पताल’ निर्माण सुरु गरिएको छ। हेटौँडा उपमहानगरपालिका–४ मा राजमार्गसँगै रहेको १९ कट्ठा जमिनमा अस्पताल निर्माण भइरहेको हो।
अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाका अनुसार २०८४ सालको दशैँदेखि सेवा सुरु गर्ने लक्ष्यसहित एक सय श्ययाको अतिविशिष्ट अस्पताल निर्माण भइरहेको छ। परियोजनामा करिब दुई अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ।
स्थानीय लगानीकर्तासमेतको साझेदारी रहेको उक्त अस्पताल सञ्चालनमा आएपछि मकवानपुर र आसपासका जिल्लाका बासिन्दाले सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। साथै स्थानीय स्तरमा रोजगारीका अवसर पनि सिर्जना हुने बताइएको छ।
वि.सं. २०६३ मा स्थापना भएको चितवन मेडिकल कलेजले हाल भरतपुरमा सात सय श्ययाबाट सेवा दिँदै आएको छ। मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।