काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रियामा इन्टरपोलले थप कागजात माग गरेको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले आवश्यक थप विवरण नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंसँग माग गरेको हो।
एक उच्च प्रहरी अधिकारीका अनुसार रेड नोटिस जारी गर्ने प्रक्रिया जारी रहे पनि आवश्यक कागजात अपुग भएकाले इन्टरपोलले थप प्रमाण तथा विवरण मागेको हो।
गत चैत २४ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि एनसीबी काठमाडौंले इन्टरपोललाई औपचारिक रूपमा रेड नोटिस जारी गर्न अनुरोध गरेको थियो।
तर, इन्टरपोलले कागजात अपुग रहेको भन्दै हालसम्म रेड नोटिस जारी गरेको छैन।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमै रहेका थिए। उनीहरू १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए भने त्यसपछि ७ चैतमा हङकङ पुगेको बताइएको छ। हालसम्म उनीहरू नेपाल फर्किएका छैनन्। स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेको अनुमान गरिएको छ।
रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन्। त्यसपछि कानुनी प्रक्रिया पूरा गरेर नेपाल ल्याउन सकिने व्यवस्था छ।
यसअघि देउवाले वक्तव्य जारी गर्दै आफू ‘खुला किताब’ रहेको बताएका थिए। उनले सम्पत्तिसम्बन्धी आरोप भ्रामक र झुटा भएको दाबी गर्दै सार्वजनिक पदमा रहँदा सम्पत्तिको विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको बताएका थिए।
यस प्रकरणमा शेरबहादुर देउवाका नातेदार प्रदीप शमशेर जबरा, भूषण राणा र जयवीर देउवालगायतको कारोबारमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ।