काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने क्रममा बोल्दै उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर उठाइएका प्रश्नहरूको जवाफ दिएका हुन्। उनले सिफारिस प्रक्रिया परम्परा र संविधानअनुसार नै अघि बढाइएको दाबी गर्दै वरिष्ठताको आधारमै नियुक्ति हुने हो भने संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने टिप्पणी गरे।
लामिछानेले विगतको भागबन्डाको राजनीतिक अभ्यासतर्फ संकेत गर्दै अहिलेको प्रक्रियाले पुरानो परिपाटी तोडेको बताएका छन्। उनले न्यायालयलाई राजनीतिक प्रभाव र दबाबबाट मुक्त रहनुपर्ने उल्लेख गर्दै अदालतप्रति जनविश्वास कायम गर्न आवश्यक रहेको धारणा राखे।
आफूमाथि आक्रोश व्यक्त गर्नेहरूलाई सम्बोधन गर्दै उनले आफू कुनै पनि चुनौती सामना गर्न तयार रहेको प्रतिक्रिया दिए। साथै, अदालतले जनताको न्यायप्रतिको अपेक्षालाई गम्भीर रूपमा लिनुपर्ने र न्याय केवल कागजमा सीमित हुन नहुने उनको भनाइ थियो।