जनकपुरधाम । धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने जनकपुरधामका ऐतिहासिक तथा धार्मिक पोखरीहरू दिनप्रतिदिन प्रदूषणको चपेटामा पर्दै गएका छन्।
मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका अधिकांश पोखरी वरपर अनियन्त्रित रूपमा फोहोर फालिने क्रम बढ्दै जाँदा तिनको सौन्दर्य, धार्मिक महत्त्व र पर्यावरणीय अवस्था खस्किँदै गएको छ।
जनकपुरधाममा दैनिक हजारौँ स्वदेशी तथा भारतीय तीर्थयात्री तथा पर्यटक आउने गर्छन्। तर उनीहरूको साझा गुनासो सहरको फोहोर व्यवस्थापन र विशेषगरी ऐतिहासिक पोखरीहरूको दयनीय अवस्थाप्रति हुने गरेको छ।
झापाबाट आएका तीर्थयात्रीहरूको एक टोलीले धार्मिक नगरीका रूपमा परिचित जनकपुरधामका पोखरीहरूको अवस्था देखेर दुःख लागेको बताउँदै स्नानका लागि सफा पोखरी खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको गुनासो गरे। उनीहरूले पोखरी संरक्षण र सरसफाइमा स्थानीय सरकारले अपेक्षित ध्यान दिन नसकेको टिप्पणीसमेत गरे।
स्थानीयवासीका अनुसार सहरको पहिचानसँग जोडिएका ऐतिहासिक पोखरीहरूको अवस्था वर्षेनि बिग्रँदै गएको छ। हाल नियमित रूपमा तुलनात्मक सरसफाइ हुने पोखरीमध्ये गङ्गासागर मात्रै रहेको उनीहरूको भनाइ छ। धनुषसागर, अरगजा पोखरी, दशरथ तलाउ, कपालमोचनीलगायत अन्य ऐतिहासिक पोखरीमा प्रभावकारी सरसफाइ हुन नसकेको स्थानीयवासी बताउँछन्।
स्थानीयवासी तथा धार्मिक अगुवा जानकी शरणले सम्बन्धित निकायले समयमै संरक्षण, मर्मत तथा व्यवस्थापनमा ध्यान नदिँदा पोखरीहरूको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व क्रमशः ओझेलमा पर्दै गएको बताउनुभयो। उहाँले वर्षौँदेखि नियमित सरसफाइ र संरक्षण प्रभावकारी रूपमा हुन नसकेको गुनासो गर्नुभयो।
उहाँका अनुसार पोखरीमा फोहोर फाल्न निषेध गरिएको सूचना बोर्ड विभिन्न घाटमा राखिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
पर्यावरण अभियन्ता सुरेश शर्माले पोखरीहरू धार्मिक सम्पदा मात्र नभई प्राकृतिक जलस्रोत, भूजल पुनर्भरण, तापक्रम नियन्त्रण तथा जैविक विविधता संरक्षणका दृष्टिले पनि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार पोखरीहरूको अस्तित्व संकटमा पर्दा सहरको समग्र पर्यावरणीय सन्तुलनमा नकारात्मक असर पर्ने जोखिम बढ्छ।
यता स्थानीय तहका जनप्रतिनिधिले पोखरी संरक्षणका लागि विभिन्न योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि व्यवहारमा सरसफाइ र व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै नागरिकहरूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले अधिकांश पोखरी तथा तिनको जग्गा गुठी संस्थानको स्वामित्वमा रहेकाले उपमहानगरपालिकाले चाहेर पनि आवश्यक काम गर्न कठिनाइ भइरहेको बताउनुभयो। उहाँका अनुसार यही कारण दीर्घकालीन फोहोर व्यवस्थापनका लागि आवश्यक ल्याण्डफिल साइटको व्यवस्थासमेत हुन सकेको छैन।
धार्मिक नगरी जनकपुरधामको पहिचानसँग अभिन्न रूपमा जोडिएका ऐतिहासिक तथा धार्मिक पोखरीहरूको संरक्षण, नियमित सरसफाइ र प्रभावकारी व्यवस्थापनमा सम्बन्धित निकायले तत्काल पहल नगरे वातावरणीय, धार्मिक तथा सांस्कृतिक सम्पदामा थप क्षति पुग्ने जोखिम बढ्दै गएको स्थानीयवासीको भनाइ छ।