काठमाडौं । फ्रान्सका कप्तान केलियन एम्बाप्पेले फिफा विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टनी कप्तान लियोनल मेसीले बनाएको सर्वाधिक १९ गोल विश्वकीर्तिमान पछ्याइरहेका छन् । मेसीले चालू २३औँ संस्करणको विश्वकपअन्तर्गत समूह चरणमा जर्मनी स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोल संख्या तोड्दै १९ संख्या पुर्याएका हुन् । मेसीको रेकर्डपछाडि एम्बाप्पे निकै नजिक पुगेका छन् । फ्रान्सले स्विडेनविरुद्ध ३–० को जित निकाल्दा एम्बाप्पेले दुई गोल गरेका थिए । यससँगै उनले विश्वकपमा गोल संख्या १८ पुर्याएका छन् ।

मेसीको रेकर्ड बराबरी गर्न उनलाई एक गोल आवश्यकता छ । मेसीको तुलनामा एम्बाप्पेले कम खेल खेल्दै १८ गोल पुर्याएका हुन् । उनले विश्वकपमा अहिलेसम्म १८ खेल पूरा गरेका छन् । मेसीले ६ पटकको विश्वकप यात्रामा २९ खेल खेलिरहेका छन् । चालू विश्वकपमा मेसी र एम्बाप्पेले समान ६ गोल गरेका छन् । एम्बाप्पेको उमेर २७ वर्ष मात्रै छ । मेसी भने ३९ वर्षका भए । मेसीले लगातार सात खेलमा गोल गर्ने विश्वकपमा रेकर्ड बनाएका छन् । मेसीले आफ्नो गोल संख्या बढाउने अवसर छ । मेसीले समूह चरणमा अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । त्यसैगरी उनले जोर्डनविरुद्धको खेलमा १ गोल र अस्ट्रियाविरुद्धको खेलमा २ गोल गरेका थिए ।
प्रिक्वार्टरफाइनलमा उत्कृष्ट फर्ममा रहेको केप भार्डेविरुद्ध अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दै छ । यस खेलमा मेसीले गोल संख्या थप्ने अपेक्षा छ । एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध समान २ गोल गरेका थिए । अर्कोतिर विश्वकपमा मेसी र एम्बाप्पेलाई नपत्याउँदो रूपमा नर्वेका हाल्यान्डले दबाब दिइरहेका छन् । हाल्यान्डले पनि पाँच गोल गरेका छन् । नर्वेले मंगलबार राति आइभोरी कोस्टविरुद्ध २–१ को जित निकाल्दा हाल्यान्डले निर्णायक गोल गरेका थिए । विश्वकपमा मुख्य गरी मेसी, एम्बाप्पे र हाल्यान्डबिच गोल्डेन बुट प्रतिस्पर्धा चलिरहेको छ ।
चालू विश्वकपमा ७९ खेलमा २३१ गोल भएका छन् । अहिले प्रतिखेलको गोल औसत २.९२ रहेको छ । ६ पटक विश्वकप खेलिरहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कहिले पनि नकआउट चरणमा गोल गरेका छैनन् । २३औँ संस्करणको विश्वकपमा उनले २ गोल मात्र गरेका छन् । उनले कमजोर प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध गरेका थिए । पहिलो खेलमा डिआर कंगोविरुद्ध रोनाल्डोले फितलो प्रदर्शन गरेका थिए । दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध उनले उत्कृष्ट खेल प्रदर्शन गरी म्यान अफ दी म्याच पुरस्कार पाए ।
एम्बाप्पे नकआउट चरणमा धेरै गोल गर्ने खेलाडी
लगातार दुई विश्वकपमा एम्बाप्पे उच्च लयमा खेलिरहेका छन् । सन् २०२२ को कतारले आयोजना गरेको विश्वकपमा उनले सर्वाधिक आठ गोल गर्दै गोल्डेनबुट जितेका थिए । यसपटक पनि शतप्रतिशत फर्ममा छन् । अहिले तीन खेलमा ६ गोल गरेका छन् । विश्वकपमा उनले नकआउट चरणमा एउटा रेकर्ड आफ्नो नाममा लेखाएका छन् । विश्वकप इतिहासमा नकआउट चरणमा धेरै गोल गर्ने उनी बनेका छन् । उनले नौ नकआउट खेलमा १० गोल गरे ।
यो रेकर्ड बनाउँदा उनले चार वर्षअघि अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए । विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने उनी दोस्रो खेलाडी हुन् । कतार विश्वकपको नकआउट चरण खेलमा उनले आठ गोल गरेका थिए । यसैगरी, ब्राजिलका रोनाल्डोले १० नकआउट खेलमा आठ गोल गरेका छन् । मेसीले नकआउट चरणमा आठ गोल थोकेका छटन् । सन् १९३० को विश्वकपमा पोल्यान्डका लेओनिडासले आठ गोल गरेका थिए । यसैगरी, फ्रान्सका जस्टिन फोन्टिाइनले तीन नकआउट खेलमा सात गोल गरे । ब्राजिललाई तीनपटक विश्वकप दिलाएका पेलेले ६ नकआउट प्रतिस्पर्धामा सात गोल गरेका छन् । विश्वकप इतिहासमा १६ गोलको रेकर्ड बनाएका क्लोजले नकआउट चरणमा पाँच गोल गरेका थिए ।