महोत्तरी । सशस्त्र प्रहरी बल नेपालका असइ थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले जिल्ला अदालत महोत्तरीबाट भएको फैसला आंशिक उल्ट्याएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको बुधबारको संयुक्त इजलासले दुई पूर्वसांसदसहित ६ जनालाई पाँच वर्ष कैद, तीनजनालाई जन्मकैद फैसला सुनाएको हो ।
जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र तथा धर्मेन्द्र राय र सुरेश पाण्डेलाई पाँच वर्षका दरले कैद सजाय सुनाइएको हो । यी चारैजना फरार छन् । उनीहरूले विकमाथि प्रत्यक्ष रूपमा भौतिक आक्रमण गरेको वस्तुनिष्ठ प्रमाण नदेखिए पनि मुख्य प्रतिवादीहरूको बयान र घटनाको समग्र परिस्थितिअनुसार हत्या गराउने कार्यमा संलग्नता देखिएको ठहर गर्दै उच्चले पाँच कैद सजाय सुनाएको हो । यसैगरी, जिल्ला अदालतबाट सफाइ पाएका एमाले पूर्वसांसद लक्ष्मी कोइरी महतो र पवन कापरलाई समेत उच्च अदालतले दोषी ठहर गर्दै जनही पाँच वर्ष कैदको सजाय सुनाएको छ ।
तीनजनाको जन्मकैद सजाय यथावत्
उच्च अदालतले घटनाका मुख्य अभियुक्तहरू प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा जिल्ला अदालतले सुनाएको जन्मकैदको सजायलाई यथावत् राखेको छ । तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत उनीहरूलाई दोषी ठहर गरिएको हो ।
फैसलामा चिकित्सकीय प्रमाण, किटानी जाहेरी, अनुसन्धानका क्रममा दिइएका बयान, एम्बुलेन्सचालक सुशील मिश्र तथा अन्य साक्षीहरूको बयान र घटनास्थलका तस्बिरलाई मुख्य प्रमाण मानिएको छ । विशेषगरी सञ्जयकुमार साहले असइ विकमाथि आक्रमण गरिरहेको दृश्य देखिने तस्बिरलाई अदालतले बलियो प्रत्यक्ष प्रमाणका रूपमा स्विकारेको छ ।
यसअघि २८ मंसिर ०८० मा महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले यस मुद्दामा फैसला सुनाएको थियो । त्यतिवेला जन्मकैदको सजाय पाएका अभिराम शर्मासहितका व्यक्तिहरू पुनरावेदन नगरी फरार भएका थिए । कानुनअनुसार पुनरावेदनका लागि दिइने ७० दिन र म्याद थाम्ने थप ३० दिन गरी सय दिनको अवधि गुज्रिएपछि उच्च अदालतले कानुनी व्यवस्थाअनुसार स्वतः साधक सुनुवाइ (फैसला जाँच्ने प्रक्रिया) अघि बढाएको थियो । सोही क्रममा न्याय प्रशासन ऐन, २०७३ को दफा १० (४) बमोजिम अभियुक्तका परिवारका सदस्यले ९ वैशाख ०८१ मा उनीहरू निर्दोष रहेको दाबी गर्दै निवेदन दिएका थिए । अढाई वर्षसम्म विभिन्न कारणले रोकिँदै ५०औँ पटकको पेसीमा मात्र यो मुद्दा किनारा लागेको हो ।
के थियो घटना?
यो घटना ०७२ मा मधेश आन्दोलनसँग जोडिएको छ । २५ भदौ ०७२ मा हेटौँडाबाट संयुक्त राष्ट्रसंघीय मिसनको परीक्षा दिएर कार्यस्थल महोत्तरी फर्कँदै गरेका सशस्त्र प्रहरीका असइ थमन विक आन्दोलनकारीको आक्रमणबाट घाइते भएका थिए । उनलाई जलेश्वर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि एम्बुलेन्समा जनकपुर ल्याइँदै गर्दा तत्कालीन अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्स रोकेर बाहिर निक(ाली लाठी र ढुंगाले हानेर क्रूरतापूर्वक हत्या गरेका थिए ।