पर्सा । पर्साको पकाहाँमैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह गम्भीर विवाद र भ्रष्टाचारको आरोपमा घेरिएका छन्। पद र अधिकारको दुरुपयोग गर्दै साहले आफ्नै गाउँले २ जना व्यक्तिको नाम कागजी ठेक्का लगाई आफ्नै भाइ कृष्णा साह तेलीको लागी लिएको पोखरीमा गाउँपालिकाको बजेटबाट नयाँ भवन निर्माण गराएपछि उनीमाथि स्वार्थको द्वन्द्व (Conflict of Interest), बजेटको फजुलखर्च र गुणस्तरहीन काम गराएको आरोप लागेको छ।
वडा नं. ४ स्थित खेश्राहा चोकको पोखरीको डिलमा माछाको आहार भण्डारण गर्ने बहानामा गाउँपालिकाको करिब ४ लाख रुपैयाँ लागतमा उक्त भवन निर्माण गरिएको हो। तर, सोही स्थानमा गाउँपालिकाले यसअघि नै बनाएका सटरहरू प्रयोगविहीन अवस्थामा हुँदाहुँदै आफ्नै भाइलाई फाइदा पुर्याउने नियतले प्रशासकीय अधिकृत साहले अनावश्यक रूपमा नयाँ बजेट विनियोजन गरी सार्वजनिक स्रोतको दोहन गरेको स्थानीयवासीको आरोप छ।
निर्माण कार्यको लागत र गुणस्तरमाथि पनि गम्भीर अनियमितताको शङ्का गरिएको छ। स्थानीयका अनुसार अत्यन्तै कमसल र गुणस्तरहीन सामग्री प्रयोग गरी बनाइएको उक्त भवन २ लाख रुपैयाँभन्दा कममै तयार हुने प्रकृतिको छ। २ लाखको काममा ४ लाख रुपैयाँ लागत देखाएर बाँकी रकम अनियमितता गरिएको दाबी गर्दै स्थानीयले यसको निष्पक्ष छानबिनको माग गरेका छन्।
यस विषयमा गाउँपालिका अध्यक्ष सुरेश मेहताले समेत प्रमुख प्रशासकीय अधिकृत साहको मनोमानी उजागर गरेका छन्। अध्यक्ष मेहताका अनुसार आफूलाई कुनै जानकारी नै नदिई अधिकृत साहले गुपचुप रूपमा बजेट विनियोजन गरेर सो भवन निर्माण गराएका हुन्। यसले गाउँपालिकामा प्रशासकीय अधिकृत साहले प्रक्रिया र पारदर्शितालाई मिचेर एकलौटी ढङ्गले बजेटको दुरुपयोग गरिरहेको पुष्टि गर्छ।
सार्वजनिक बजेटको बदमासी, स्वार्थको द्वन्द्व र गुणस्तरहीन निर्माणमा संलग्न प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित निकायले तत्काल कडा छानबिन गरी कानुनी कारबाही गर्न स्थानीय तहबाट व्यापक दबाब सिर्जना भएको छ।
उक्त दुई पोखरी अधिकृत साहले आफ्नो गाउँले करीमन मुखिया बिन र कन्हैया मुखिया बिनको नाममा ठेक्का लगाई आफ्नो भाइ कृष्ण साहलाई दिएको स्थानीयहरुले बताए छ्न । कागजी प्रक्रियामा मात्र उनीहरूको नाम रहेको तर सम्पूर्ण कामकाज र किनबेच निज अधिकृतका भाइले नै गरेको स्थानीवासीले बताए छ्न ।