वीरगञ्ज। लगातारको वर्षा र जारी सडक विस्तारका कारण वीरगञ्ज क्षेत्रमा फैलिएको वातावरणीय प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारेपछि आउँदो शनिबार नि:शुल्क बाल स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। मौसमी परिवर्तनका कारण बालबालिकामा देखिन सक्ने रुघा, खोकी, ज्वरो, पखाला तथा शारीरिक वृद्धिमा आउने कमी जस्ता समस्याहरूको समयमै पहिचान र उपचार गरी दीर्घकालीन जटिलता रोक्ने उद्देश्यले यो शिविर आयोजना गर्न लागिएको हो।
बाल रोग विशेषज्ञ डा. राजकुमार शाहले वीरगञ्जको रानीघाटस्थित मसला गल्लीमा रहेको आफ्नै निजी क्लिनिकमा बिहान ९:०० बजेदेखि साँझ ८:०० बजेसम्म सम्पूर्ण बालबालिकाको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने जानकारी दिएका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) बाट बाल रोगमा विशेषज्ञता हासिल गरी छोटो समयमै स्थानीय स्तरमा भरोसायोग्य चिकित्सकको पहिचान बनाएका डा. शाहले बारा, पर्सा तथा सीमावर्ती क्षेत्रका बालबालिकालाई लक्षित गरेर यो सेवा सञ्चालन गर्न लागेका हुन्।
देशका विभिन्न भागमा प्राकृतिक विपत्ति र स्वास्थ्य जोखिम बढीरहेका बेला युवा चिकित्सकले देखाएको यो सामाजिक दायित्व र एकल प्रयासको स्थानीयवासीले उच्च प्रशंसा गरेका छन्। आयोजकका अनुसार इच्छुक अभिभावकहरूले तोकिएको समयभित्र क्लिनिकमा पुगेर आफ्ना बालबालिकाको नि:शुल्क उपचार र परामर्श सेवा लिन सक्नेछन्।