वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारले हालै वीरगञ्जस्थित एक क्यासिनोमा प्रहरीले गरेको छापामारीसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएको समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्।
अध्यक्ष कुमारले एक सार्वजनिक वक्तव्य जारी गर्दै आफू कुनै पनि क्यासिनोमा पक्राउ नपरेको तथा प्रहरीको छापामारीमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले आफू पक्राउ परेको भन्ने प्रचार पूर्ण रूपमा गलत, भ्रामक र तथ्यहीन रहेको बताएका छन्।
उनले सत्यतथ्य नबुझी वा प्रमाणबिना आफ्नो नाम जोडेर समाचार तथा सूचना सम्प्रेषण नगर्न सम्बन्धित सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालासँग आग्रह गरेका छन्। यस्ता भ्रामक सूचनाले व्यक्तिको प्रतिष्ठामा अनावश्यक क्षति पुग्ने उल्लेख गर्दै उनले जिम्मेवार पत्रकारिता र तथ्यमा आधारित सूचना प्रवाह गर्न आग्रह गरेका छन्।
अध्यक्ष कुमारले सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सबैमा अनुरोध गर्दै आफ्नो नाम जोडेर फैलाइएको भ्रामक प्रचारप्रति सचेत रहन अपिल गरेका छन्।